निर्वाचनको तयारी पुरा, कार्यक्षेत्रमा खटिए कर्मचारी
Saturday, November 19th, 2022, 6:22 pm
Kalpristha
आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि खटिने सबै कर्मचारी शुक्रबार आफनो कार्यक्षेत्रमा पुगेका छन् । बाँके जिल्लामा यसपटक निर्वाचन सम्पन्न गराउनको लागि ३ हजार ४० जना कर्मचारी खटिदैछन् ।
कार्यक्षेत्रमा पुगेका कर्मचारीले मतदान स्थल निर्माण गर्ने, स्थानीय राजनिति दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायतसँग सर्वदलीय बैठक गर्न सुरु गरिसकेको निर्वाचन कार्यालय बाँके प्रमुख रमा पन्तले जानकारी दिईन ।
उनले भनिन,‘निर्वाचन गराउन आवश्यक पर्ने सामाग्री लिएर सबै कर्मचारी आफनो कार्यक्षेत्रमा पुगिसक्नु भएको छ । धेरै आजैबाट मतदान केन्द्र निर्माण सुरु गरिसक्नु भएको छ । आइतबार भयरहित वातावरणमा निर्वाचन गराउन हामी सबै खटिरहेका छौं ।’
बाँकेमा निर्वाचन गराउनका लागि अन्तिम तयारी पुरा भएको पन्तले कालपृष्ठ दैनिकलाई बताईन् ।
निर्वाचन कार्यालय बाँकेका अनुसार बाँकेका ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ । सोही मतदान स्थलमा ३ सय ८० वटा मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ ।
नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पनि एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचन कार्यालय प्रमुख पन्तले भनिन्, ‘यसपटक आयोगको परिपत्र अनुसार कर्मचारी, थुनुवा, कैदी, बृद्धाश्रममा रहेका जेष्ठ नागरिक लगायतका लागि अस्थायी मतदान केन्द्रको ब्यवस्था गरिएको हो, यसअघि अस्थायी मतदान केन्द्र राख्ने ब्यवस्था थिएन ।’
निर्वाचनमा जिल्लाभर कुल ३ लाख ३२ हजार २ सय ३१ जनाले मताधिकार प्रयोग गर्दैछन् । यसमध्ये १ लाख ६८ हजार ८ सय ५३ जना पुरुष र १ लाख ६३ हजार ३ सय ६९ जना महिलाले मतदान गर्ने भएका छन् ।
बाँकेको क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १ लाख २१ हजार १ सय मतदाता रहेका छन् । त्यसपछि दोस्रोमा क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ३ सय २२ तथा क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
बाँके प्रदेश सभा–१ (१) मा ५५ हजार ८ सय ४५ र प्रदेश सभा–१ (२) मा ६५ हजार २ सय ५५ जना मतदाता छन् ।
यस्तै प्रदेश सभा–२ (१) मा ५० हजार ३ सय १३, प्रदेश सभा–२ (२) मा ४७ हजार ४ सय ९६ मतदाता रहेका छन् ।
यसैगरी प्रदेश सभा–३ (१) मा ६१ हजार ५ सय ९६ र प्रदेश सभा–३ (२) मा ५१ हजार ७ सय २६ जनाले आइतबार मतदान गदैछन् ।