‘हिंसा गर्नेविरुद्ध शून्य सहनशीलता’ : गृहसचिव सिंह
Saturday, November 19th, 2022, 6:24 pm
Kalpristha
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लगातार बम विष्फोट गराउने र कुकर बम राखेर त्रसित गराउन थालेपछि देशभर ‘बम डिस्पोजल’ टोली परिचालन गरिएको छ ।
निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९ सय ३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले बताए ।
गृह मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सिंहले देशभर ९ सय ३ ठाउँमा सेनाको बम डिस्पोजल टोली खटिएको र आवश्यकता अनुसार टोली थप गरिने जानकारी दिए ।
उनका अनुसार बम निष्क्रिय गर्नसक्ने थप १५० टिम तयारी अवस्थामा छन् ।
गृहसचिव सिंहले नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्रका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सँगै राखेर पत्रकार सम्मेलन गरेका थिए ।
सम्मेलनमा सिंहले हिंसात्मक गतिविधि गर्नेहरुविरुद्ध ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरिने बताए ।
बुधबार भोजपुर र नेपालगञ्जमा विष्फोट गराएको सो समूहले शुक्रवार बिहान काठमाडौं र ललितपुरमा कुकर बम राखेको छ ।
काठमाडौंमा बुढानिलकण्ठ, भत्केको पुल र ललितपुरको जावलाखेलमा बम राख्ने काममा ‘विप्लवका’ कार्यकर्ता संलग्न रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।