अस्थायी मतदान केन्द्रमा भोट हाल्दै दुई कैदी
Saturday, November 19th, 2022, 6:26 pm
Kalpristha
नेपालगन्ज कारागारमा रहेका आदित्य श्रेष्ठ र मोहम्मद तयदअली जोलाहले पशु कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा भोट हाल्ने भएका छन् ।
रामलिला मैदान नजिकै रहेको पशु कार्यालयमा बाँके क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय रहेको जहाँ ।
जिल्ला सुरक्षा प्रमुख, निर्वाचन कार्यालय प्रमुख, सरकारी कर्मचारी, निर्वाचनमा कार्यालयका कर्मचारीले भोट हाल्नेछन् ।
निर्वाचनमा खटिने कर्मचारी अभाव भएका कारण दुइ कैदीलाई अस्थायी मतदान केन्द्रमा भोट हाल्ने व्यवस्था मिलाएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
कारागारमै अस्थायी निर्वाचन केन्द्र बनाउने भनिएपनि दुइ जना मात्र कैदीले भोट हाल्न पाउने भएपछि पशुसेवा कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा उनीहरुलाई भोट हाल्ने व्यवस्था मिलाएको बताउँछन निर्वाचन कार्यालय बाँके प्रमुख रमा पन्त । उनले भनिन,‘अली धेरै भए कारागारमै व्यवस्था गर्नु पर्ने हुन्थ्यो ।
दुइ जनालाई मात्र त्यहाँ मतदान केन्द्र राख्दा कर्मचारी धेरै चाहिन्छ ।
त्यसैले दुइ कैदीलाई अस्थायी मतदान केन्द्रमा मत हाल्ने व्यवस्था गरेका छौं ।’
आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुइ जनाले मात्र भोट हाल्दैछन् ।
नेपालगञ्ज उप–महानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८ वर्षीय मोहम्मद तयदअलि जोलाहाले समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल्ला कारागारका प्रमुख अर्जुनजङ्ग शाहले जानकारी दिए ।
निर्वाचन आयोगले माग गरे बमोजिम कारागारबाट सात सय २६ बन्दीको नामावली आयोगमा पठाइएको थियो ।
तर नामावली पठाएका मध्ये १२ जनाको नामावलीमा नाम देखिए पनि अन्तिम नामावलीमा दुई जनाको मात्रै आएको शाहले जानकारी दिए ।
आदित्य श्रेष्ठ करिब सात महिनादेखि पूर्पक्षका लागि कारागार चलान भएका थिए । उनको लागुऔषध कारोबारको मुद्दा रहेको छ ।
उनको मुद्दा अहिलेसम्म अदालतबाट फैसला भएको छैन । मोहम्मद करिब एक वर्षदेखि कारागारमा रहेका छन् ।
लागुऔषधसम्बन्धी मुद्दामा कारागार चलान भएका उनले कारागारमा १० वर्ष बिताउने जेलर शाहले बताए ।