समानुपातिकबाट कर्णालीमा १५ महिला बने सांसद
Thursday, December 15th, 2022, 9:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
सुर्खेत, २९ मंसिर
कर्णाली प्रदेश सरकारमा समानुपातिक कोटाबाट चयन हुने १६ जनामा १५ जना महिला नेतृले संसाद बन्ने अवसर पाएका छन् । कर्णाली प्रदेश सरकारमा जाने समानुपातिकबाट हुम्लाका कलबहादुर हमाल बाहेक अन्य सबै महिलाले अवसर पाएका हुन् । हमाल एमाले नेता हुन् । एमाले बाहेक अन्य सबै पार्टीले महिलालाई अवसर दिएका छन् ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले समान ५ सांसद, नेकपा माओवादीले ४,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान १ सांसद पाएका छन् ।
एमालेले हमालसँगै खस आर्यतर्फ कोटाबाट कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, दलित महिला तथा पिछडिएको क्षेत्रबाट दैलेख आठबिस नगरपालिकाकी गमता विक र आदिवासी जनजातीबाट सुर्खेतकी नन्दा गुरुङलाई सासद बनाएको छ ।
कांग्रेसले आदिवासी जनजातिबाट सुर्खेतकी बलिमाया बुढा, खस आर्य महिलाबाट सुर्खेतकै जानकी सिंह र हुम्लाकी विजया बुढा, पिछडिएको क्षेत्रबाट दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी इन्द्रकुमारी शाही र महिला दलितबाट सल्यानकी लक्ष्मी सुनारलाई कर्णाली प्रदेश सभा सदस्य बनाएको छ ।
माओवादी केन्द्रले कर्णाली प्रदेश सभामा आदिवासी जनजाति र पिछडिएको क्षेत्रबाट हुम्लाकी जुम्कित लामा कार्की, खस आर्य महिलातर्फ कालिकोटकी यशोदा न्यौपाने र रुकुम पश्चिमकी मिलन खड्का रोका र दलिततर्फ डोल्पाकी उर्मिला विकलाई सांसद बनाएको छ । समाजवादीले महिला खस आर्यतर्फ रुकुम पश्चिमकी कल्याणी खड्कालाई र राप्रपाले खस आर्यतर्फ सुर्खेतकी सन्तोषी शाहीलाई प्रदेश सभा सदस्य बनाएको छ ।