एक्कासी बढ्यो चिसो, जनजीवन प्रभावित
Wednesday, December 28th, 2022, 9:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ पुष
नेपालगन्जमा एक्कासी चिसो बढेको छ । चिसोसँगै शितलहर पनि सुरु भएपछि यहाँको जनजीवन कष्टकर बन्दैं गएको छ । अत्याधिक रुपमा चिसो बढेपछि नेपालगन्ज लगायत तराईका जिल्लाहरुको जनजीवन प्रभावित हुन थालेको छ ।
कुहिरोका कारण ‘भिजिविलिटी’ समेत कम भएको छ, भने तापक्रम क्रमशः घट्दो क्रममा छ । चिसो बढेपछि नेपालगन्जका अधिकांश ठाँउमा जाडो छल्न आगो बालेर तापिरहेको देख्न सकिन्छ ।
सोमबारसम्म घाम लागेको थियो । तर, मंगलबारदेखि घाम लाग्न सकेको छैन । जसका कारण अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । जाडोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, मुक्त कमैया, ज्येष्ठ नागरिकलाई धेरैै समस्या हुने गरेको छ ।
जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासी जाडो बढेपछि बालबालिका, बृद्धबृद्धा, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई जाडोले गर्दा समस्या भएको छ ।
नेपालगन्जको तापक्रम मंगलबार घटेर ८.६ डिग्री थियो भने बुधबार बढेर १० डिग्री पुगेको छ । मौसम विद्ध रुपन ज्ञवालीका अनुसार शुक्रबार सम्म मौसममा केहि सुधार आउने सम्भावना रहेको छ ।
यसैगरी यस वर्षको चिसोयाम शुरु भएसंगै स्थानीय तहसंगको समन्वयमा बाँकेमा कार्यरत सवै संघसस्था, निजि क्षेत्र,नेपाल रेडक्रस सोसाइटीले एक आपसमा समन्वय गरी चिसो तथा शितलहरवाट हुने क्षति न्युनिकरणका लागि गतिविधि सञ्चालन गर्ने तयारी गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकबाट चिसो तथा शितलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, वालवालिका,गर्भवती महिला,सुत्केरी महिला तथा जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरी सुची तयार पार्ने र उनीहरुलाई राहत वितरणमा प्राथमिकतामा राख्ने निर्णय समेत गरेको छ ।
बैठकले चिसो तथा शितलहर चलेको वेला चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिभिजनवन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वन मार्फत आवश्यक दाउरा उपलव्ध गराउने भएको जिल्ला विपद् व्यवस्थापन समितिका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञावलीले जानकारी दिए ।