सामाजिक संजालको दुरुपयोगले जोखिममा बालबालिका
Saturday, December 31st, 2022, 6:40 pm
Kalpristha
दाइसँग आउन आग्रह गरेपछि उनी घरमा कसैलाई नभनी किशोरीलाई भेट्नका लागि उनका दाजुकहाँ कोहलपुर पुगे । कोहलपुरमा किशोरलाई लिन ३१ वर्षीय जितुलाल शर्मा आए । बहिनीसँग भेट गराइदिने बहानामा उनले सिम्ला पुर्याए । किशोरले त्यहाँ मानसिकदेखि शारीरिक यातना पाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १५ पुष
गत कार्तिकमा बाँकेको बैजनाथ गाउँपालिकाबाट सामाजिक सञ्जालको लतमा परेका १३ वर्षीय बालक बेपत्ता भए । घरबाट बाहिर मुस्किलले निस्कने ति बालक एकाएक सम्पर्कविहीन भएपछि उनका अविभावक आत्तिए । अनि खोजि सुरु भएपनि, उनको अत्तोपत्तो नलागेपछि अभिभावक र आफन्तले अपहरणको आशंका गरे ।
घटनाबारे थाहा पाएपछि प्रहरीले अनुसन्धान बढायो । अन्ततः२३ दिनपछि उनलाई रुपैडियाबाट उद्धार गर्यो ।
भएको के रहेछ भने- साथीभाइसँग धेरै नखेल्ने, धेरै नबोल्ने उनिआफ्ना बुबाको मोबाइलमा आफ्नो फेसबुक चलाउदा रहेछन्। उनि लामो समयदेखि एक किशोरीसँग कुराकानी गर्थे । कुराकानीका क्रममा प्रेममा परे । किशोरीले आफूलाई भेट्न आउन आग्रह गरिन् । ति किशोरीले उनलाई लिन आफ्ना दाजु आउने कुरा गरिन् । दाइसँग आउन आग्रह गरेपछि उनी घरमा कसैलाई नभनी किशोरीलाई भेट्नका लागि उनका दाजुकहाँ कोहलपुर पुगे । कोहलपुरमा किशोरलाई लिन ३१ वर्षीय जितुलाल शर्मा आए । बहिनीसँग भेट गराइदिने बहानामा उनले सिम्ला पुर्याए । किशोरले त्यहाँ मानसिकदेखि शारीरिक यातना पाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
भारतको चण्डीगढ र हरिद्वार हुँदै सिम्ला पुर्याइएका ती किशोर २३ दिनपछि परिवारको सम्पर्कमा आए ।
पछिल्लो समय सामाजिक सञ्जालमा फेक आईडीबाट फिसिङ (ट्रयापिङ) गरी किशोरकिशोरीलाई फसाउने क्रियाकलाप बढेको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार रामचन्द्र पौडेलले बताउछन् । चालु आर्थीक वर्षमा सामाजिक सन्जाल दुरुपयोगका ५३ वटा उजुरी आएको उनले जानकारी दिए । आईडि ह्याक गर्ने र पैसा माग्ने खालका उजुरीहरु धेरै आउने गरेको उनले जानकारी दिए । साईबर सम्बन्धि मुद्दा केन्द्रले नै हेर्ने हुनाले यस्ता घटनामा को संलग्न छन् भन्ने कुरा माथीबाटै अनुसन्धान हुने उनले बताए ।
पछिल्लो समय बालबालिकामा सामाजिक सन्जालको बढ्दो प्रयोगले उनिहरु थुप्रैखाले हिंसाको शिकार हुनपुगेको शान्ति पुर्नस्थापना गृह बाँकेका जिल्ला संयोजक निर्मल सुवेदी बताउछन् । शान्ति पुर्नस्थापना गृह बाँकेले पछिल्लो ५ महिना यता जोखमिपुर्ण यात्रा गरिरहेका १२६ जना उद्दार गरेको छ । जसमा ३० जना सामाजिक सन्जालको प्रयोगबाटै सो यात्रामा संलग्न भएको पाईएको जिल्ला संयोजक सुवेदीले बताए । सामाजिक सन्जालको प्रयोगबाट जोखमिपुर्ण यात्रा गरिरहेका ३० जनामा ९० प्रतिशत नाबालिग रहेको उनले जानकारी दिए ।
पछिल्लो समय मानव बेचविखनमा संलग्नहरुलेपनि आफ्नो शैलि परिवर्तन गरेर सामाजिक सन्जालबाटै बालबालिका र किशार-किशोरीलाई जोखिममा पार्ने काम गरिरहेको माईति नेपालका संयोजक केशव कोईराला बताउछन् । सामाजिक सन्जालका थुप्रै फाईदा भएपनि पछिल्लो समय यसको दुरुपयोग बढ्दा र किशोर-किशोरीहरुले त्यसमा अनावश्य लत बसाल्दा उनिहरु नै जोखिममा पर्ने गरेको माईति नेपालका संयोजक कोईरालाले बताए ।
उनले भने, ‘हामी कहाँ आउने जोखमिपुर्ण यात्रा गरिरहेका किशोरकिशोरी र बालबालिका मध्ये ५० प्रतिशत किशोर-किशोरी र बालबालिका सामाजिक सञ्जालबाटै ट्रयापमा परेको देखिन्छ । पछिल्लो समय सबैभन्दा बढी प्रयोग हुने भनेको ‘ईमो’ हो ।’