नयाँ गतिका साथ काम गर्ने संकल्प सहित खजुराको गाउँसभा सम्पन्न
Friday, January 13th, 2023, 6:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २९ पुष
विभिन्न महत्वपुर्ण निर्णयहरु पारिद गर्दै खजुरा गाउँपालिका गाउँसभाको १२औं अधिवेशन सम्पन्न भएको छ । ‘हामी आफैं बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने नाराका साथ पुषको २४ गतेदेखि गाउँसभा सुरु भएको थियो । शुक्रबार गाउँसभामा पेश भएका, कानुन, ऐन संशोधन तथा अर्धवार्षिक रुपमा भएमा योजनाहरुको कार्यप्रगतिको समीक्षा गर्दै गाउँसभा सम्पन्न भएको हो ।
गाउँपालिकाको विकासका लागि विभिन्न नयाँ योजना र केहि योजनाहरुलाई संशोधन गरी काम गर्ने निर्णय भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले बताए । उनले भने,‘गाउँपालिकावासीले हामीलाई चार वर्षको लागि काम गर्ने अवसर दिनु भएको छ । हाम्रा माझ अवसर र चुनौति दुबै छन् । खजुराको सम्रग विकासका लागि पालिकाले निजि क्षेत्रसँगको साझेदारी गरेर अगाडी बढन चाहन्छ । पालिकाले आफनो स्रोत र केहि महत्वपुर्ण योजना केन्द्र, प्रदेशको अनुदानमा सम्पन्न गर्नेछ । पाँच वर्षे र गौरवका योजनालाई हामी उच्च प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्य सहित अगाडी बढेका छौं ।’
खजुरा गाउँपालिकाले नयाँ गतिका साथ काम गरिरहेको अध्यक्ष विकले सभालाई सम्बोधन गर्ने क्रममा बताएका छन् । उनले भने,‘खजुरालाई हामी नयाँ पहिचान दिन चाहन्छौं । यसका लागि सम्पुर्ण सभासदस्य ज्युहरु, प्रतिनिधिहरु र आम नागरिकसँगको सहकार्य गर्दै ढृड संकल्पका साथ हामी काम गर्नेछौं ।’
सभामा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानको अध्यक्षतामा भएको गाउँसभामा रकमान्तरको लागि पेश भएको आर्थिक वर्ष ०७९–०८० को बजेट, नगर प्रहरी सम्बन्धी विधेयक २०७९, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक २०७९ माथि सभासदहरुले छलफल गर्दै पारित गरेका थिए ।
यसैगरी सभाले संशोधनका लागि पेश भएको स्वास्थ्य तथा सरसफाई ऐन २०७८, को परिच्छेद ४ को दफा १० संसोधन गर्ने, खजुरा गाउँपालिको न्यायिक समितिले उजुरी कारबाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन २०७४ केहि बुँदाहरु र खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७९–८० को आर्थिक ऐन संशोधनको बारेमा छलफल गर्दै पारिद गरेको छ ।
शुक्रबार सम्पन्न भएको गाउँसभामा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, सदस्य सचिवका रुपमा रहेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्याय, गाउँसभाका सभासद, गाउँपालिका विषयगत शाखाका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो ।
सभामा प्रस्तुत भएका ऐन, विधयक र प्रस्तावका बारेमा खजुरा गाउँपालिकाका सभासदहरुले छलफल गर्दै केहि सुझावहरु समेत दिएका थिए । सभाले पालिकाको आर्थिक ऐन संशोधन गर्ने क्रममा राजस्वको नयाँ दर निर्धारण, राजस्वको पुरानो दर हेरफेर र निजी तथा सार्वजनिक जग्गाको माटो उत्खनन सम्बन्धमा महत्वपुर्ण निर्णय गरेको छ ।
खजुरा गाउँपालिका गाउँसभाको १२औं अधिवेशनका केहि तस्विरहरु ।

………

……….

………….

………..

………..

………..