महिलाको नेतृत्वमा सफलता हासिल गर्दै अग्रगामी सहकारी
Sunday, February 5th, 2023, 6:32 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २२ माघ
स–सानो पुँजीबाट आर्थिक स्तर सुधारमा सहकारीको भुमिका महत्वपुर्ण । आर्थिक उन्नतीको एउटा सशक्त माध्यम बनिरहेको छ सहकारी । जिल्ला सहकारी संघका अनुसार बाँकेमा विषयगत समेत गरेर चार सय नौ वटा सहकारी छन् । त्यसमा ७९ वटा सहकारीको नेतृत्व महिलाहरुले गरिरहेका छन् । तर सबै सहकारीले सोचेजस्तो सफलता हासिल गर्न सकिरहेका छैनन् । महिलाको नेतृत्वमा हरेक वर्ष प्रगति गरिरहेको सहकारीमा पर्छ अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड । जुन सहकारी बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० स्थित राझाका स्थानीय महिलाले सञ्चालन गरिरहेका छन् ।
अग्रगामी महिला बचत तथा ऋण सहकारी अहिले जिल्लामै अब्बल सहकारीको सुचिमा पर्ने गरेको छ । स्थापनाको समयमा विभिन्न कठिनाई पार गर्दै आएको सहकारीले अहिले सफलता हासिल गर्दै गएको छ ।
२०६९ मा विधिवत् रूपमा दर्ता भएर सञ्चालनमा आएको अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड अहिले महिलाले मात्र सञ्चालन गरेको सफल सहकारीको रूपमा चिनिने गरेको छ । त्यस अघि आफ्नै टोलमा बसेर ३६ जना महिलाले बचत गर्न सुरु गरेका थिए ।
सिर्जनसिल आमा समह गठन गरि सानो रकम बाट बचत गर्न सुरु गरेको संस्थाको अहिले शेयर पुँजी ८० लाख पुगेको छ । महिलाहरू संस्थाबाट ऋण लिएर व्यवसायी बनेका छन् । महिलाहरूले संस्थाबाट ऋण लिएर तरकारी खेती, किराना पसल समेत गरेका छन् । ‘संस्थामा आवद्ध भएका महिलालाई दुई÷चार पैसा चाहिएमा ऋण खोज्न बाहिर जानुपर्ने अवस्था छैन,’– संस्थाकी अध्यक्ष हरिकला रिजालले भनिन् । ‘संस्थामा आबद्ध महिलालाई केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । सदस्यहरूको आर्थिक अवस्थामा समेत सुधार भएको छ ।’
संस्थामा हाल १२ सय बढी सदस्य रहेको संस्थाको निर्वतमान अध्यक्ष उषा भण्डारीले बताइन् । अहिले संस्थाले आफ्नै जग्गा किनेर पक्की भवन समेत बनाएको छ । सहकारीले आर्थिक कारोबारसँगै हरेक वर्ष तीजको अवसरमा नृत्य प्रतियोगिता देखि लिएर सरसफाई र अन्य सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।
‘वितेका वर्षहरुमा कोरोना महामारीका कारण बजार आक्रान्त बनेका वेला पनि हामी घाटामा गएनौं । अहिले पनि हामी बार्षिक साढे पाँच करोडको कारोबार गछौं ।’– संस्थापक अध्यक्ष समेत रहेकी उषा भण्डारीले भनिन् ।
महिलाले मात्रै सन्चालन गरेका सहकारी बाहेक अरु सहकारीहरुमा महिलाको नेतृत्व चित्त बुझ्दो नभएपनि सुधार उन्मुख भने रहेको उनको बुझाई छ ।
‘महिलाले मात्रै सन्चालन गरेका सहकारी बाहेक अरु सहकारीहरुमा महिलाको नेतृत्व तहमा महिलाको संख्या बढाउन सम्बन्धित निति र विधि मै व्यवस्था गर्न जरुरी छ । बाँके जिल्ला कै कुरा गर्ने हो भने पनि एकाध बाहेकका सहकारीको अध्यक्षमा महिलालाई देख्न मुस्किल पर्छ । यो भन्दै गर्दा सहकारीहरुको नेतृत्व तहमा महिलाको संख्या केहि भएपनि बढेको कुरालाई नकार्न भने सकिन्न ।’– उनले भनिन् ।
बाँके जिल्लामा अग्रगामी महिला बचत तथा ऋण सहकारि संस्था लिमिटेड जस्तै थुप्रै सफल सहकारी संस्थाहरु महिलाले मात्रै सन्चालन गरिरहेका छन् । दशक अघि भन्दा पछिल्ला केहि बर्षहरुमा महिलाहरुले मात्रै नेतृत्व गरेको सहकारीहरुको संख्या वृद्वि हुँदै गएको राष्ट्रिय सहकारी संघका सन्चालक सदस्य तथा लुम्विनी प्रदेशका संयोजक विजया धिताल बताउँछिन् ।
‘पछिल्लो केहि समय यता महिलाहरुले मात्रै सन्चालन गरेका सहकारीको संख्या बढ्दै गएको छ । यसका साथै अन्य सबै विषयगत सहकारीहरुमा पनि महिलाहरुले नेतृत्व गरेको हामी देख्न सक्छौ । म आफैपनि युनिटी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व गरिरहेको छु । त्यस अघि पनि मैले एउटा सहकारीमा नेतृत्व तहमा बसेर काम गरिसकेको छु ।– धितालले भनिन् ।
समग्रमा सहकारीमा महिलाको सहभागिता बढ्दा बढ्दै पनि नेतृत्व तहमा चित्तबुझ्दो महिला सहभागिता भने अंझैपनि नरहेको उनको भनाइ छ । ‘नेतृत्व तहमा जाने सपना र सोच महिलाहरूले पनि बनाउन जरुरी छ । काम गर्दै गर्दा थुप्रै खालका समस्या आउँछन् । तर, महिलाले नेतृत्व गर्न सक्दैन भन्नेमा मलाई कति पनि विश्वास छैन । त्यसका लागि अवसर भने चाहिन्छ ।’– उनले भनिन् ।