अलपत्र पुलको निर्माण कार्य कछुवा गतिमा शुरु
Thursday, March 16th, 2023, 9:37 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २ चैत
क्याराभान कन्स्ट्रक्सनले काम नै शुरु नगरी दुई वर्षदेखि त्रिवेणीमा अलपत्र पक्की पुलको निर्माण कार्य कछुवा गतिमा शुरु भएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेले भेरी करिडोर अन्र्तगत भेरी नदीमा पुल निर्माण गर्न क्याराभान कन्स्ट्रक्सनलाई टेण्डर मार्फत कामको जिम्मा दिएको थियो । डोल्पा जाजरकोट र रुकुम पश्चिमको त्रिसाँध डोल्पाको त्रिवेणीमा ०७७ सालमा निमार्ण कार्य शुरु गर्ने गरी क्यारभानले कामको जिम्मा पाएको थियो । क्याराभान कन्स्ट्रक्सनले साढे दुई वर्ष सम्म पनि निर्माण कार्य शुरु नै नगरी पछि आएर स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई पुल निर्माणको ठेक्का बेचेपछि निर्माण कार्य थप अलपत्र परेको थियो ।
पन्ध्र करोड रुपिंयामा पुल निर्माण गर्ने भन्दै जगदुल्ला हाईड्रोपावर कम्पनीले साढे दुई वर्ष अघि ठेक्का खोलेको थियो । क्यारभान कन्स्ट्रक्सनवाट चौध करोड सत्र लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्स्टक्सनले अहिले आएर पुलको निर्माण कार्य शुरु गरे पनि पुलले भने खासै गति लिन सकेको छैन । कहिले वर्खा र कहिले जग्गा विवादको कारण देखाउदै काममा ढिला गर्ने गरेका कारण निर्माण कार्यले गति लिन नसकेको हो । रेट्रो ट्रेक कन्स्ट्रक्सनको तर्फवाट योजना निर्माणस्थलमा खटिएका सव इन्जिनियर तथा साइट इन्चार्ज सुरेन्द्र रावल पुलको बेस बनाउने निर्माण सामाग्री जम्मा गर्नुका साथै तटवन्ध निर्माण कार्य भइरहेको बताउछन् ।
उनले भने–‘वर्खा लाग्नु भन्दा अगावै निर्माण सामाग्री सहित उपकरणहरु आयोजनास्थल सम्म पुगे अवको डेढ वर्ष भित्रमा निर्माण कार्य सम्पन्न हुन्छ ।’ पुलको निर्माण कार्य ढिलाई हुँदा निर्माणधिन १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्य समेत बाधा पुगेको छ । क्याराभान कन्ट्रक्सनका प्रोपराइटर चन्द्र थकालीले भने पुलको कामै नगरि पेश्की स्वारुप ७२ लाख रुपैंया लिइसकेका छन ।