गुरुकुलद्धारा जेष्ठ नागरिक सम्मानित
Friday, May 5th, 2023, 2:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ वैशाख
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जले जेष्ठ सदस्यसँग शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपालगन्ज न्युरोड स्थित सहकारीको कार्यालय परिसरमा भएको कार्यक्रममा गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका २७ जना जेष्ठ नागरिक सेयर सदस्यलाई सम्मान गरियो ।
कार्यक्रममा जेष्ठ नागरिकलाई खादा ओठाएर सहकारीको लोगो अंकित कप प्रदान गरिएको थियो । सम्मान कार्यक्रम पश्चात जेष्ठ नागरिकहरुसँग सहभोजको पनि आयोजना गरिएको थियो । जेष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज कुमार श्रेष्ठ, गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरी, सामाजिक विकास मंचका अध्यक्ष श्याम कुमार थापा, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार जोशी, गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष एवम् वरिष्ठ सल्लाहाकार प्रेम बहादुर शाह, निर्वतमान अध्यक्ष सुरेन्द्र सिंह सरदार लगायतले जेष्ठ नागरिकलाई सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी मनोज कुमार श्रेष्ठले गुरुकुलले समाजमा विभिन्न उत्कृष्ट कार्यहरुको गरेको भन्दैं प्रशंसा गरे । उनले भने,‘गुरुकुलले सामाजिक क्षेत्रमा निकै राम्रो काम गरेको छ । आजको कार्यक्रमका लागि म धन्यवाद दिन चाहन्छु । जेष्ठ नागरिक भनेको हाम्रो इतिहास हुन् । उनीहरुको सम्मान र आदार गर्नु पर्छ । त्यसको सुरुआत गुरुकुलले गरेको छ यो निकै राम्रो कुरा हो ।’
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकका अध्यक्ष प्रदिप चौधरीको अध्यक्षमा भएको कार्यक्रममा सहकारीको संचालक समिति, लेखा समिति, कर्मचारी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरीले पहिलो पटक सहकारीले जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमको सुरुआत गरेको बताए । उनले भने,‘जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद । हामी जेष्ठ नागरिकलाई सम्मानसँगै उनीहरुलाई आर्थिक रुपमा बचत गर्ने र आत्मनिर्भर हुने कुरामा सहयोग गर्ने योजना बनाईरहेका छौं ।’
बुद्ध जयन्तीको अवसर पारेर जेष्ठ नागरिकको सम्मान गर्दै उनीहरुको जीवनलाई सहज बनाउन सहकारीले सहयोग गर्नु पर्छ भन्ने मान्यताका साथ सम्मान कार्यक्रमको आयोजना गरिएको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक टिकाराम चौधरीले बताए । यस्ता कार्यक्रमले सहकारीले आफनो सामाजिक उत्तरदायित्वसँगै जेष्ठ नागरिकलाई आर्थिक रुपमा सबल हुन सहयोग गर्ने बताए ।
‘गुरुकुलको आह्वान संस्थाको उत्पादन घर घरमा पुयाउने हाम्रो अभियान’ भन्ने नाराका साथ काम गरिरहेको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँकेको उत्कृष्ट सहकारीमा पर्छ । गुरुकुललाई जिल्ला सहकारी संस्थाले यस वर्षको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरिसकेको छ ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवा उद्यमी कार्यक्रम, सरसफाई कार्यक्रम, गरिब जेहेन्दार विद्यार्थी शैक्षिक सामाग्री सहयोग, बृक्षारोपण, रक्तदान लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको प्रबन्धक टिकाराम चौधरीले बताए ।

……………..