उदयीमान सहरका रुपमा स्थापित हुँदैं कोहलपुर
Saturday, May 6th, 2023, 6:00 am
Kalpristha
लक्ष्मी तिमिल्सेना
कोहलपुर, २२ बैशाख
लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको ‘गेट वे’का रुपमा रहेको कोहलपुर नगर उदयीमान सहरका रुपमा विकसित हुँदैछ ।
कोहलपुरमा पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा नेपालगन्जबाट सुर्खेत हुँदै कर्णाली प्रदेश जाने रत्न राजमार्ग मिल्ने चारवटा बाटोको मिलनविन्दु कोहलपुर चौराह रहेको छ । त्यसैले कोहलपुरलाई यातायात सुविधाका हिसाबले महेन्द्र राजमार्गबाट सुदुर पश्चिम तथा कर्णाली प्रदेश जाने प्रवेशद्वारका रुपमा लिइन्छ ।
२०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि शमसेरगन्ज गाविसको केही भाग २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएर हालको कोहलपुर नगरपालिकाको भौगोलिक क्षेत्र कायम भएको हो ।
यस नगरपालिकामा जम्मा १५ वटा वडाहरु रहेका छन् । कोहलपुर नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणमा १७ हजार छ सय ८९ कुल घरपरिवार रहेको यस नगरमा ८७ हजार तिन सय जनसंख्या रहेको छ ।
जाति समुदायका आधारमा कोहलपुरमा कुल जनसंख्या मध्ये पहाडी दलित ११ प्रतिशत, मधेसी दलित २.२ प्रतिशत, पहाडी जनजाति तथा आदिबासी ९.८ प्रतिशत, मधेसी जनजाति तथा आदिबासी २६.९ प्रतिशत, पहाडी ब्राम्हण÷क्षेत्री÷ ठकुरी÷ सन्यासी ४३.६ प्रतिशत, मधेसी ब्रम्हण÷ क्षेत्री÷ राजपुत २ प्रतिशत, मुस्लिम २.७ प्रतिशत, पहाडी अन्य ०.५ प्रतिशत, मधेसी अन्य १.३ प्रतिशत जाति लगायत खटिक, चिडीमार आदिजस्ता लोपान्मुख तथा सीमान्तकृत समुदायका मानिसहरु बसोबास गर्दछन् । यहाँ नेपाली भाषी ६९.२४ प्रतिशत, थारु २४.५१ प्रतिशत, अवधि ४.७ प्रतिशत, हिन्दी १.१ प्रतिशत र मगरखाम, मैथिली, डोटेली, गुरुङ, भोटे र अन्य १ प्रतिशत भन्दा कम रहेका छन् ।
कोहलपुर सुविधायुक्त आधुनिक शहरका रुपमा विकसित हुँदै गइरहेको नगरपालिका हो । यहाँ सङ्घीय सरकार र प्रदेश सरकारका विभिन्न क्षेत्रीय कार्यालय र सरकारी संस्थानहरु रहेका छन् । इलाका प्रशासन, पर्यटन कार्यालय, इलाका प्रहरी कार्यालय, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, नेपाली सेनाको मध्यपश्चिम पृतना तालिम शिक्षालय, उच्च माध्यमिक शिक्षा परिषद्, आन्तरिक राजस्व अनुसन्धान कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्वास्थ्य चौकी र आयुर्वेद औषधालय जस्ता महत्वपुर्ण सरकारी कार्यालयहरु हुनुले पनि यस नगरको उत्कृष्टता जनाउँछ ।

………..
कोहलपुर नगरपालिका स्वास्थ्य सेवाका दृष्टिकोणले पनि महत्वपुर्ण नगर हो यहाँ १३ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र, एक–एकवटा नगर स्वास्थ्य प्रबर्धन केन्द्र तथा नगर अस्पताल छन् । साथै यहाँ एउटा मेडिकल कलेज, तिन वटा निजी अस्पताल तथा एउटा आयुर्वेद औषधालय समेत रहेको कोहलपुर नगरपालिकाका जनस्वास्थ्य निरिक्षक अनिल सेन ठकुरी बताउछन् ।
कोहलपुर साक्षर नगरपालिका हो । नगरपालिकाको कुल जनसंख्याको १५ देखि ६० वर्ष उमेर समूहका ५० प्रतिशत भन्दा बढी साक्षर छन् । २०७६ जेठ ३१ गते कोहलपुरलाई साक्षर नगरपालिका घोषणा गरिएको थियो ।
कोहलपुर नगरपालिका मध्य तथा सुदुरपश्चिमकै शैक्षिक केन्द्रका रुपमा स्थापित नगर हो । यहाँ ३० वटा सामुदायिक तथा ४६ वटा संस्थागत विद्यालयहरु छन् । यसका अलावा नगरले खुला विद्यालयको अवधारणा समेत अपनाएको नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राम बहादुर हमाल बताउँछन् । यहाँ विश्वविद्यालयस्तरको शिक्षा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा पाईन्छ । निजीक्षेत्रबाट काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालगन्ज मेडिकल कलेज, दुई वटा नर्सिङ कलेज र तिन वटा बहुमुखी क्याम्पस सञ्चालनमा रहेका छन् । यसकारण पनि कोहलपुर मध्य तथा सुदुरपश्चिम क्षेत्रमा विद्यार्थीहरुको शैक्षिक गन्तव्यका रुपमा समेत विकसित हुँदै आएको छ ।
स्थापना कालदेखि नै मुख्य आर्थिक तथा व्यापारिक केन्द्रका रुपमा विकास हुँदै आएको कोहलपुर नगरपालिका आर्थिक हिसाबले पनि सम्बृद्विको पाईला चाल्दै गरेको नगरपालिका हो । यद्यपी यस नगरका सबै क्षेत्रलाई समेटेर करको दायरामा ल्याउन भने अँझै बाँकी रहेको राजश्व अनुसन्धान तथा परामर्शविद् विश्व भण्डारी बताउँछन् ।
यहाँका ८० प्रतिशत व्यवसायीहरुले भाडाको घर तथा सटरमा व्यवसाय गर्दै आईरहेको बताउदै उनले घरबहालकर, एकीकृत सम्पतिकर तथा व्यवसायीकर लाई समेत शतप्रतिशत रुपमा समेटेर लैजान सके आर्थिक हिसाबले नगर अँझ समृद्व बन्ने बताए ।
भौगोलिक, आवासीय, व्यावसायिक र शैक्षिक संगमस्थलको रुपमा विकास हुदै गरेको यस नगरपालिकालाई अबको पाँच बर्षमा शुसासन र संस्थागत सुधारका हिसाबले अब्बल नगरपालिका बनाउने नगरप्रमुख पुर्ण प्रसाद आचार्य बताउँछन् ।
‘लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा समेत रहेको हुँदा यसलाई प्रदेश तथा नेपालकै नमूना आवासीय र व्यासायिक केन्द्रको रुपमा विकास गर्ने हाम्रो योजना हो । यस नगरपालिकालाई नेपालको एक नमूना भौगोलिक, आवासिय, व्यावसायिक र शैक्षिक शहरको रुपमा विकास गर्ने छौं । संगसंगै शुसासन र संस्थागत सुधार गर्ने कुरा त छँदै छ ।’–उनले भने ।
नगर क्षेत्र भित्र क्रिकेट खेलमैदान तथा विभिन्न खेलमैदानहरु समेत छन् । नगर क्षेत्रको विभिन्न ७ स्थानमा खेलकुद, मनोरञ्जन स्थलहरु छन् ।
केही वर्षमा नगरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा आर्थिक हिसाबले उत्कृष्ट शहरका रूपमा चिनाउने उद्देश्य नगरपालिकाले लिएको छ । यहाँका सडकहरु विस्तार र व्यवस्थित हुँदै छन् । बाह्य र आन्तरिक सडक, बाटो, नाली निर्माण भइरहेका छन् ।
नगरले क्रमागत योजनाहरुको निर्माणमा समेत तिव्रता दिएको छ । साथसाथै यहाँको सामाजिक विकासमा समेत नगरले थुप्रै सामाजिक संघसंस्थाहरुसंग मिलेर काम गरिरहेको नगरप्रमुख आचार्य बताउँछन् ।