मौलिक परिकारलाई ब्रान्डिङ गर्ने तयारी
Tuesday, May 9th, 2023, 8:49 pm
Kalpristha
नेपालगन्जका स्थानीय रैथाने परिकार, चाट, बिरयानी, पानी पुरी, हलुवा पराटा, घंमन्जा, इर्मती, सेकुवा लगायतका चर्चित परिकारलाई व्यवस्थित रुपमा राती करिब १२ बजे सम्म बिक्री गर्नका लागि खुला गरिनेछ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ वैशाख
नेपालगन्जका रैथाने परिकारहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य गर्न लागिएको नेपालगन्ज फुड लेनको बारेमा मंगलबार छलफल भएको छ । नेपाल एशोसियसन अफ टुर एन्ड ट्रार्भल एजेन्ट(नाटा) बाँके च्याप्टरले जेठ १२ गते देखि नेपालगन्जको त्रिभुवन चोकमा फुड लेनको सुरुआत गर्ने तयारी गरेको छ । जसमा त्रिभुवन चोक देखि रानीतलाउ जाने बाटो सम्म रात्रीकालिन समयमा नेपालगन्जका रैथाने परिकारहरुको मेला लाग्नेछ । जसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा मंगलबार सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।
छलफलमा नेपालगन्ज त्रिभुवन चोकका स्थानीय व्यापारी, आयोजक नाटा बाँकेका पदाधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष, पत्रकार र आयोजक कमिटिका सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपालगन्जमा पहिलो पटक आयोजना गर्न लागिएको फुड लेन कार्यक्रम स्थानीय मौलिक परिकारलाई ब्रान्डिङ गर्ने उद्देश्यले विकसित भएको अवधारणा रहेको आयोजक नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले बताए ।
नेपालगन्जका स्थानीय रैथाने परिकार, चाट, बिरयानी, पानी पुरी, हलुवा पराटा, घंमन्जा, इर्मती, सेकुवा लगायतका चर्चित परिकारलाई व्यवस्थित रुपमा राती करिब १२ बजे सम्म बिक्री गर्नका लागि खुला गरिनेछ । त्यसलाई व्यवस्थित र स्वास्थ्यको हिसाबले उपयुक्त परिकारहरु कसरी बनाउने भन्ने बारेमा पनि स्थानीय व्यवसायीलाई विशेषज्ञ टिमले सहजीकरण गर्नेछ ।
फुडलेनको अवधारणले नेपालगन्जमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्धी गर्दै स्थानीय मौलिक परिकारलाई देशभर र विश्वबजार सम्म फैलाउने उद्देश्य राखिएको छ । आयोजक नाटा च्याप्टर बाँके अध्यक्ष सिग्देलले भने,‘हाम्रो उद्देश्य भनेको यहाँको मौलिक परिवार जुन चर्चित छन् । त्यसको स्वादले धेरै मानिसलाई मोहित बनाउँछ । त्यस्ता परिकारलाई हामीले देशभरमा चर्चित गराउन पर्छ । यसले यहाँको पहिचानसँगै आर्थिक प्रगतिमा पनि सघाउँछ । त्यसका लागि हामी एउटा योजना बनाएर त्यसलाई सुरुआत गर्ने तयारी गरेका छौं । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’
नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले त्रिभुवन चोकको पहिचानसँगै यहाँको आर्थिक उन्नतीसँग फुड लेन कार्यक्रम जोडिएकोले यसलाई सफल बनाउन आफुले सक्दो सहयोग गर्ने बताए । उनले भने,‘यो एकदमै राम्रो योजना हो । समय अनुसार हामीले आफुलाई बदल्नु पर्छ । व्यापारमा पनि हामीले त्यसलाई अनुसरण गरेमा त्यसले राम्रो प्रतिफल दिन्छ । नगरको पहिचान बढाउन यस्ता कार्यक्रम महत्वपुर्ण छन् । यसलाई सफल बनाउन सबैले सहयोग गर्नु पर्छ ।’
फेड लेन आयोजक कमिटिका सदस्य एवम कालपृष्ठ दैनिकका संस्थापक हेमन्त कर्माचार्यले नेपालगन्जको पहिचानलाई जिवन्त राख्दै आर्थिक उन्नती गर्न यस्ता कार्यक्रमले टेवा पु¥याउने बताए । उनले भने, ‘यहाँका हरेक खाने कुरामा आफनै विशेषता छन् । जसले ग्राहकलाई वर्षौ सम्म आर्कर्षित गरिरहेका हुन्छ । तर विस्तारै ति कुराहरु हराउने डर छ । नयाँ पुस्तामाझ हाम्रो मौलिक परिकारको स्वाद र महत्वलाई लैजानका लागि पनि आवश्यक छ ।’
प्रयर्टन प्रवद्र्धन मंच बाँके अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपालगन्जको पहिचानलाई जिवन्त राख्न फुड लेन कार्यक्रमले संघाउने बताए ।

………….
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ८ अध्यक्ष रजनीश वाजपेयी र ११ नम्बर वडा अध्यक्ष नन्द किशोर कश्यपले फुड लेन कार्यक्रमलाई सफल बनाउन वडाले सहकार्य गर्ने बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले फुड लेन कार्यक्रम नेपालगन्जको पहिचानसँग जोडिएकोले यसलाई उचित व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको धारणा राखे । छलफल कार्यक्रममा फेड लेनको व्यवस्थापन, सुरक्षा व्यवस्था, फोहोर व्यवस्थापन र व्यवसायीलाई ऋणको व्यवस्था लगायतका विषयमा पनि छलफल गरिएको थियो ।