‘हामीलाई बैठक भत्ता चाहिन्न, काम गर्ने कर्मचारी दिनहोस’
Wednesday, May 24th, 2023, 9:44 pm
Kalpristha
दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन भएको १ बर्ष पुरा भएको छ । यस अवधिमा निर्वाचित जनप्रतिनिधिले आफ्ना एजेण्डा अनुरुपका कामहरुको सुरुवात गरेका छन् । केहि काम पुरा भएका छन् भने केहि पुरा हुने क्रममै छन् । यसै सन्दर्भमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर दुईमा यो अवधिमा भए गरेका कामहरुबारे वडाध्यक्ष मनोज कुमार श्रेष्ठसँग गरिएको कालपृष्ठ संवाद ।
एक बर्षको अवधिमा वडा नम्बर दुईमा के–के विकास भयो ?
हाम्रो वडाको मात्रै यस बर्ष करिब एक करोड १८ लाख बजेट थियो । त्यस बाहेक संघ र प्रदेशका केहि योजनाहरु यहाँ सन्चालनमा छन् । हामीले के ग¥यौं भन्ने सन्दर्भमा थुप्रै स–सानो स्वरुपमा थुप्रै कामहरु गरिरहेका छौं । विभिन्न स्थानहरुमा गरि करिब पाँचवटा बाटो हामीले कालोपत्रे गरिसक्यौं । थुप्रै नालाहरुको पुनःनिर्माण र स्तरिकरणको कामहरु भईरहेको छ । गौशालाको उत्तरपट्टी एक सय आठ फिटको हनुमानको प्रतिमा बन्दै छ । जुँगे महादेवको मन्दिर पुनःनिमार्ण हुँदै छ ।
सार्वजनिक निःशुल्क शौचालय हामीले निर्माण गरिसकेका छौं । घरबारी टोल, भानुभक्त चोक, बागेश्वरी टोल स्कुल र गौशाला भित्र गरि ६० लाख बराबरको चार वटा हाईमास लाईट जडानको क्रममै छौं । १० लाखको बजेटमा क्रियापुत्री भवन बन्दै छ । यि लगायत थुप्रै कामहरु गरिरहेका छौं ।
सामाजिक विकास तर्फ कत्तिको ध्यान दिनुभयो ?
भौतिक विकास सँगसँगै सामाजिक विकास तर्फ पनि हामीले विभिन्न कामहरु गरिरहेकैछौं । सामाजिक विकास तर्फ हामीले यस बर्ष करिब ६ लाख बजेट विनियोजन गरेका थियौं । त्यसबाट हामीले लक्षित बर्गका कार्यक्रमहरु ग¥यौं । सँगसँगै हामीले कौसी खेती, लागुऔषध, जातिय छुवाछुत निर्मुलिकरण तथा विभिन्न सिप मुलक तालिम प्रदान गर्ने कामहरु गरेका छौं ।
स्वास्थ्य, सरसफाई तथा खानेपानीको अवस्था के छ ?
हामीले स्वास्थ्यका सन्दर्भमा गज्जबको काम गरेका छौं । त्यो के भने हामी कहाँ स्वास्थ्यका सन्दर्भमा गलत अभ्यास हुँदै आएको रहेछ । १५ थरिको औषधी माग्दा २५ थरिको औषधी हामीमाथी जबरजस्ती थोपर्ने चलन रहेछ । त्यो पनि म्याद नाघ्न १०–१५ दिन मात्रै बाँकी रहेको औषधी हामीलाई दिईन्थ्यो । तर, हामी आएपछि त्यसको विरोध ग¥यौ र अहिले हामीकहाँ कम्तिमा तीन बर्षको म्याद रहेको औषधी आउने गरेको छ ।
यसैगरि सरसफाईको क्षेत्रमा हामीले थुप्रैं काम गरेका छौं । हामी कहाँ ६ जना सफाई कर्मचारी राखेका छौं । जसमा तिन महिला तिन पुरुष छन् । उनीहरुले नियमित रुपमा सरसफाईको काम त गरेकै छन् । यसका अलावा यो वडा बर्षातमा अत्ति नै धेरै डुवानमा पर्ने र थुप्रै खालको फोहरजन्य जोखिममा पर्ने कुरालाई ध्यानमा राख्दै नाला सफाईको काम पनि हामीले गरिरहेका छौं । अबको बर्षातमा अघिल्लो बर्ष जस्तो समस्या हुदैन ।
साथै खानेपानिको सवालमा कुरा गर्नुपर्दा हामीकहाँ खानेपानिको समस्या छैन । यद्यपी गुम्बा नजिक लगायत एकाध टोलमा भने प्रभावकारी रुपले पानी पु¥याउन सकिएको अवस्था भने छैन । त्यसका लागि हामी अबको बर्षमा केहि योजना हाल्ने सोचमा छौं ।
आउने वर्षमा विकासको योजना के कस्ता हुनेछन् ?
अबको योजना भनेको सबैभन्दा पहिला त बर्षातमा यहाँ हुने डुबानको समस्या बाट स्थानीयलाई मुक्त गराउनु हो । यो वडा धार्मिक, सामाजिक तथा व्यापारिक लगायत सबै दृष्टिकोणले अब्बल वडा हो । यसकारण पनि हामी यि सबै कुरालाई मध्यनजर गरेर अवको विकासको योजना बनाउने छौं । यहाँ भएका धार्मिक स्थलहरुको गतिलो व्यवस्थापन र प्रचार, यस क्षेत्रको व्यापारीकरणमा समन्वय र जनताका आधारभुत आवश्यकतालाई ध्यानमा राखेर नगरभरिकै उत्कृष्ट वडा निर्माण गर्ने हाम्रो योजना हो । यहाँ रहेका होटल व्यवसाय प्रवर्धन, बैंकहरुसँग सामाजिक काममा सहकार्य र समन्वय गर्नुका साथै बागेश्वरी क्षेत्र कायम गरेर त्यसभित्र स–साना योजनामा काम गर्ने हाम्रो सोच छ । साथै एउटा ट्रष्टको निर्माण गर्ने हामीले सोचेका छौं । सार्वजनिक जग्गाको संरक्षणमा हामी काम गर्ने छौं ।
स्थानीस्तरमा काम गर्दै गर्दा के–कस्ता चुनौति के–के छन् ?
यहाँ सम्भावना र चुनौति दुवै छन् । किनभने, हामीकहाँ अँझैपनि थुप्रै प्रशासनिक कुराहरुको व्यवस्थापन हुन सकेको छैन । हामीलाई नागरिकता सम्बन्धि, कर्मचारी व्यवस्थापन र बजेट अभावको समस्या छ । हामीलाई बरु भत्ता चाहिन्न । काम गर्ने कर्मचारी दिनहोस भनेका छौं । परिषदको बैठक बसेर कर्मचारी नियुक्ति सम्बन्धि कार्यविधि बनाउनुस भनेर हामीले थुपै्र पटक नगरपालिकालाई भनेका छौं । तर, हाम्रो कुराको सुनुवाई भएको छैन । हामीले जोखिम मोलेर कर्मचारी नियुक्त गरेका छौं । त्यत्ति नगरे वडामा ताला लाग्छ । कर्मचारी नै नभए कसरी काम गर्नु । अख्तियारको नजरपनि हामी माथी छ ।
नागरिकताको विषयमा अदालत र प्रशासनको मनसाय बाझिँदा हामी मारमा परेका छौं । यसको पनि शिघ्र समाधानका लागि जिल्लाका न्यायधिश, बार एशोसियसन र प्रशासन बसेर समाधान खोज्न जरुरी छ । अब अर्को भनेको बजेटको समस्या छ । हामीलाई गर्नुपर्ने थुप्रै कामहरु हुन्छन् । त्यसका लागि हामीलाई प्रर्याप्त बजेट उपलब्ध हुँदैन । हामीकहाँ थुप्रै पुराना र गरिब बस्तीहरु छन् ।
स्थानीय तहमा कसरी शुसासन कायम गर्न सकिएला ?
पहिला त स्वार्थको टकराव हुन भएन । अनि आफ्नो भुमिकाबारे जानकार हुनप¥यो । यो सबै कुरासँग अनुभवको कुरापनि आउँछ । त्यसमा नयाँसँग नयाँ अनुभव लिन प¥यो र पुरानासँग पुरानै अनुभव लिएर जनताको साझा हितमा काम गर्ने हो भने शुसासन सहजै कायम गर्न सकिन्छ । सबैभन्दा ठुलो कुरा त सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी बोध गर्ने हो ।
प्रस्तुतीः लक्ष्मी तिमिल्सिना

…….