बाँकेमा मिटरब्याज उजुरी घटना
Tuesday, June 27th, 2023, 9:34 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १२ असार
बाँके जिल्लामा गत बैशाख यता ७५ वटा मिटरव्याज सम्बन्धि उजुरी परेका छन् । गत बैशाख मा ७५ वटा मिटरव्याज सम्बन्धि उजुरी परेको जिल्ला प्रशासन कार्यालय बाँकेको मिटरव्याज सम्बन्धि उजुरी शाखाको तथ्याङ्कमा उल्लेख छ ।
मुद्दा तथा हातहतियार शाखाका नायब सुब्बा महेश्वर पौडेलका अनुसार गत बैशाखमा मिटरव्याज सम्बन्धि २८ वटा उजुरी परेका थिए । यस्तै जेठमा भने उजुरीको संख्या बढेर ४८ पुग्यो ।
तर, असार सुरु भएदेखि भने मिटरव्याज सम्बन्धि उजुरी नपरेको मुद्दा तथा हातहतियार शाखाका नायब सुब्बा पौडेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले मिटरव्याज पिडित समेतको सहभागितामा मिटरब्याज विरुद्धको संघर्ष समिति गठन गरेको छ । जसले जिल्लामा आएको उजुरीहरुमा पक्ष र विपक्ष दुवैको सहभागितामा हुने छलफललाई सहजिकरण गर्ने गर्छ । जुन छलफललाई ‘मिटरब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समिति’, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनले संयुक्त रुपमा पहल गरेको हुन्छ ।
यद्यपी, अहिले सम्म कुनैपनि मिटरव्याज सम्बन्धि उजुरीमा छलफलबाट समाधान भने हुन सकेको छैन ।
‘यस प्रकारका घटनामा पक्ष वा विपक्ष दुवै अदालतको भर पर्ने रहेछन् । जसका कारण हामीले छलफलका लागि बोलाउँदा कहिले निवेदक आफै आईदिदैनन् भने कहिले पिडक भनिएको पक्ष अनुपस्थित हुन्छ ।जसका कारण छलफल गर्न खोज्दा पनि हुन नसकेको अवस्था छ ।’– पौडेलले भने ।
उनले मिटरव्याज सम्बन्धि उजुरीमा पिडित र पिडक दुवै पक्षलाई छलफलमा बोलाउदा पनि नआउने गरेको बताए ।
‘हामीले दैनिक जसो ४–५ वटा उजुरीमाथी छलफल गर्नेगरि सम्बन्धित पक्ष र विपक्ष दुवैलाई बोलाएका हुन्छौं । तर, कहिलेकसो एक जना पनि उपस्थित हुँदैनन् ।’– उनले भने ।
अहिले सम्म छलफल गरिएका २६ वटा उजुरीमा ३ जना साहुमात्रै उपस्थित भएको मिटरब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिका सदस्य तथा पिडित बबिता विकले जानकारी दिईन् ।
‘यस्ता उजुरीमा सबैभन्दा पहिलो विकल्प भनेको छलफल नै हो । तर, अधिंकास उजुरीमा विभिन्न कारण देखाएर कुनै न कुनै पक्ष छलफलमा सहभागि नै नभएको अवस्था छ । यस कारणले गर्दा पनि अहिलेसम्म कुनैपनि उजुरीमा छलफलबाट समाधान निस्केको अवस्था छैन ।’– उनले भनिन् ।

…