त्रिपुरासुन्दरी नगरपालिका जिल्लाको दोस्रो साक्षर नगरपालिका घोषणा
Saturday, July 8th, 2023, 5:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, २३ असार
त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको छ । साक्षर नेपाल अभियान अन्र्तगत जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको हो ।यस अघि जगदुल्ला गाउँपालिकाले साक्षर पालिका घोषणा गरेको थियो ।
शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा नगरकेन्द्र त्रिपुराकोटमा बिशेष कार्यक्रम गरेर साक्षर नगरपालिका घोषणा गरिएको हो ।
नगरप्रमुख जनचन्द्र रोकायको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको प्रमुख आतिथ्यतामा नगरका पन्चानब्बे प्रतिशत नागरिक साक्षर भएको दावी सहित साक्षर नगरपालिका घोषणा गरिएको नगरले जनाएको छ ।
नगर भित्रका पाँच ओटा सामुदायिक सिकाई केन्द्रले ११ वटा वडामा ५३ ओटा कक्षा संचालन गरी लिइएको तथ्याङ्कनको आधारमा साक्षर नगर घोषणा गरिएको शिक्षा शाखा प्रमुख भिमबहादुर थापाले बताए ।
शिक्षा शाखा पमुख थापाका अनुसार अब नगरमा पाँच प्रतिशत नागरिक मात्र साक्षर हुन बाँकी छन् । जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले विद्यार्थीलाई ब्यवहारिक शिक्षा दिनु अहिलेकोे आवश्यकता भएको बताए ।
बाकी रहेका पाँच प्रतिशत नागरिकलाई पनि साक्षर बनाउने कार्यमा जुटी पुर्ण साक्षर नगर घोषणा गर्न तर्फ नगर लाग्नु पर्नेमा जिल्ला समन्वय प्रमुख रोकायाले जोड दिए ।
नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले शिक्षित बेरोजगार हुनु भन्दा असल र ब्यवसायिक बेरोजगार हुनु ठिक भएको बताए । उनले पहिले विद्यालयमा विद्यर्थी विद्यार्थी वीच प्रतिस्पर्दा हुने गरेकोमा अब शिक्षक शिक्षक बीच प्रतिस्पर्दा हुने गरी गुरुबर्गले विद्यालयमा अध्यायन गर्नु पर्नेमा अध्यक्ष बुढाले बताए ।
नगरका प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र नेपालीले नगरपालिका भित्र ३ सय ५४ जना नागरिक अझै निरक्षर रहेकाले उनीहरुलाई समेत छिट्टै साक्षर बनाई पुर्ण साक्षर नगरपालिका बनाउने योजनामा नगर लागि परिरहेको बताए ।
साक्षर नगरपालिका घोषणा कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाले शैक्षिक विकासको सन्देश दिने गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साक्षर नगरपालिका घोषणाका लागि प्रत्येक नागरिकको घरघरमा पुगेर विवरण संकलन गरेर ल्याउने सामुदायिक अध्यायन केन्द्रका संकलकहरुलाई जिल्ला समन्वय समितिका प्रमुख श्याम रोकाय र नगरप्रमुख जनचन्द्र रोकायले प्रमाणपत्रका साथ अविर टिका लगाएर सम्मान गरेका थिए ।