बिन्दु ‘इन्टरप्राइजिङ वोमन अफ द इएर’ बाट पुरस्कृत
Saturday, July 8th, 2023, 7:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असार
नेपालगन्जकी महिला व्यवसायी एवम् समाजसेवी बिन्दु चर्तिमगर ‘इन्टरप्राइजिङ वोमन अफ द इएर २०२३’ अवार्डबाट पुरस्कृत भएकी छिन् । समाजसेवा र पुष्प व्यवसायको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दंै चर्तिमगरलाई द बिजनेस एजले पुरस्कृत गरेको हो ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० राझा निवासी बिन्दु चर्तिमगरले करिब एक दशक देखि पुष्प व्यवसाय गर्दै आएकी छिन् । पुष्प व्यापारमा भारतीय उत्पादनको दबदबा भैरहेका बेला उनले उत्पादन गरेका फुलहरुले नेपाली बजारमा लोकप्रियता पाईरहेका छन् । पछिल्लो समय पश्चिम नेपालमा नै उनी एउटा सफल पुष्प व्यवसायीका रुपमा परिचित छिन् ।
पश्चिम नेपालमा पुष्प व्यवसायको बारेमा नयाँ सम्भावना उजागर गर्ने श्रेय जाने चर्तिमगरलाई जान्छ । उनले नेपाली बजारमा नयाँ सम्भावनाको विकास गर्न योगदान गरेको भन्दैं शुक्रबार काठमाण्डौमा पुरस्कृत भईन् ।
बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार समेत पाएकी छिन् ।
स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले एक कार्यक्रम गरेर पुरस्कृत गरेको थियो । शनिबार पुरस्कृत भएपछि चर्तिमगरले आफनो व्यवसायमा थप उर्जाशिल भएर काम गर्ने शंक्ति मिलेको बताईन् । उनले भनिन,‘खुसी छु यो पुरस्कार पाउँदा । मैले पुरस्कार पाउछु भनेर व्यवसाय सुरु गरेको होइन । महिलाले पनि आफनो मिहिनेत र क्षमता अनुसार काम गर्न सके सफलता प्राप्त गर्न सकिन्छ भन्ने मलाई लाग्छ । हाम्रो समाजको आवश्यकतालाई हेरेर पुष्प व्यवसाय गरेको थिए । आज अन्य धेरै दिदीबहिनीहरु यस व्यवसायमा लाग्नु भएको छ । यो देख्दा खुसी लाग्छ ।’
व्यवसायसँगै बिन्दु समाजसेवामा पनि सक्रिय छिन् । नेपालगन्ज उद्योग वाणिज्य संघको सदस्य रहेकी विन्दु राप्रपाको आदिवासी जनजाति विभागको केन्द्रिय सदस्य, राप्रपा बाँकेको उपाध्यक्ष, नेपाल भारत मैत्री संघ बाँकेको सदस्य, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ एन को जोन चियर पर्सन हुन् ।
बाँकेमा व्यवसायिक पुष्प खेतीको श्रेय बिन्दुलाई जान्छ । पुष्पखेतीसँगै उनले विगत ८ वर्षदेखि चर्ति फ्लोरा मार्फत पुष्प व्यवसाय गर्दै आएकी छिन् । सुरुवाती चरणमा १० कठ्ठा क्षेत्रफलामा सयपत्री फूल उत्पादन सुरु गरेकी बिन्दुले हाल करिब ४० कठ्ठा क्षेत्रफलमा सयपत्री, मखमली, गोदावरी फूलहरू उत्पादन गर्दै आईरहेकी छिन् ।
शनिबार काठमाडौंमा भएको कार्यक्रममा बिन्दुसँगै सातवटै प्रदेशका १–१ जना महिला उद्यमीलाई नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । लुम्बिनीबाट बिन्दुसहित सुदूरपश्चिमबाट संगिता खड्का, कर्णालीबाट सिला नेपाली, गण्डकीबाट सुकुन रसाइली विक, बागमतीबाट अनुष्का श्रेष्ठ, मधेशबाट चनचला दास र कोशीबाट डिना प्रधान पुरस्कृत भए ।

…..