धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्रको उद्घाटन
Monday, July 10th, 2023, 8:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ असार
बाँकेको नेपालगन्ज स्थित धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको छ । संविधान सभा सदस्य तथा पुर्व मन्त्री मोहम्मद इस्तियाक राई तथा नगर प्रमुख प्रशान्त विष्टले सो ब्याडमिन्टन प्रशिक्षण केन्द्रको सोमबार उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै पुर्व मन्त्री राईले विकास निर्माणमा हातेमालो गर्न आग्रह गरे । उनले विगतमा समावेश भएका योजना मध्ये केही फिर्ता लैजान खोजिएको भन्दै त्यसलाई रोक्न लाग्नुपर्ने बताए ।
उनले वडा अध्यक्ष रिजालले असल जनप्रतिनिधीको रुपमा सक्रियता देखाएको भन्दै वडा अध्यक्ष रिजालको मुक्तकण्ठले प्रसंशा गरे ।
यसैगरि सो अवसरमा बोल्दै वडा अध्यक्ष रिजालले नेपालगन्ज उप–महानगरपालिकाको मुटु धम्बोझीलाई खेलकुदको हब बनाउने गरि स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको बताए । उनले प्रशिक्षण केन्द्र विद्यार्थी र नयाँ खेलाडीलाई निक्कै उपयुक्त हुने विश्वास व्यक्त गरे ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालका अनुसार उक्त प्रशिक्षण केन्द्रको निर्माण १ करोड १५ लाखको लागतमा बनेको हो । शहरी विकास कोषबाट ६६ लाख त्यसैगरी नगर विकास कोषबाट ३४ लाख र वडा नं १ बाट १५ लाख रकमबाट निमार्ण गरिएको उक्त भवन १ करोड १५ लाखको लागतमा बनेको उनले जानकारी दिए ।
सोहि अवसरमा नेपालको प्रतिनीधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ ले निर्माण गरेको धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको उद्घाटन समारोहका अवसरमा धम्बोझीका स्थायी बासिन्दा तथा पूर्व खेलाडीहरुको सम्मान गरेको हो ।
भलिबलका राजुराज शाही, कबड्डीका शाबन्ती सिंह, सुटिङका रमेश मल्ल र अशोककुमार पुन मगर, किक वक्सिङका राजु थापामगर, फुटबलका लक्ष्मी गुरुङ र लक्ष्मण थापामगर सम्मानित भएका हुन् । पूर्व राष्ट्रिय खेलाडीहरुको सम्मान गर्दै पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले यस सम्मानले नयाँ खेलाडीलाई पनि प्रोत्साहन हुने बताएका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य रत्न खत्री, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले ब्याडमिन्टन प्रशिक्षण केन्द्र हालको उद्देश्य अनुसार नियमित सञ्चालनमा आउने व्यवस्था गर्न सुझाव दिएका थिए ।
यसैबीच वडा कार्यालयको आयोजनामा नवनिर्मित ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा भेट्रान खुला प्रतियोगिता शुरु भएको छ । वडाध्यक्ष प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य नगरप्रमुख प्रसान्त विष्ट तथा मोहम्मद ईस्तियाक राईले मैत्रीपुर्ण व्याटमिन्टन खेलेर भेट्रान खुला प्रतियोगिता शुरुवात गरेका थिए ।

…

…