असारको अन्तिम सातासम्म बाँकेमा ४० प्रतिशत मात्रै रोपाई
Tuesday, July 11th, 2023, 7:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपागन्ज, २६ असार
बाँके जिल्लामा अहिलेसम्म ४० प्रतिशत मात्रै रोपाई सम्पन्न भएको छ । जिल्लाको कुल ३३ हजार हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये अहिले १३ हजार २ सय हेक्टरमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ४० प्रतिशत हो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा ३१ लाख १० हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । असार महिनाको अन्तिम सातासम्म १६ लाख ९ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ५४.५२ प्रतिशत हो ।
लुम्बिनी प्रदेशको खेतीयोग्य जमिनमध्ये ५५.०७ प्रतिशतमा सिँचाई सुविधा रहेको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार अहिले सिँचाई नभएको ठाउँमा आकाशे पानीको भर पर्नुपर्ने तर पानी नपरेकाले पर्याप्त रोपाइँ हुन नसकेको हो ।
मन्त्रालयका अनुसार १२ जिल्लामध्ये सबैभन्दा बढी प्युठानमा रोपाइँ भएको छ भने सबैभन्दा कम दाङ जिल्लामा भएको छ ।
प्युठानमा ६ हजार ५ सय २५ हेक्टरमा रोपाइँ हुनुपर्ने ठाउँमा अहिले ६ हजार १ सय ९९ हेक्टरमा भएको छ, जुन ९५ प्रतिशत हो ।
दाङमा जम्मा २७ प्रतिशत रोपाइँ भएको छ । यहाँ धान रोपाइँ हुने ३७ हजार ४ सय ३० हेक्टर भए पनि अहिलेसम्म १० हजार १ सय ६ हेक्टरमा भएको छ ।
रोल्पामा जिल्लामा ९१ प्रतिशत रोपाइँ भएको छ । रोल्पामामा ४ हजार ६ सय ३८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा अहिलेसम्म ४ हजार २ सय २१ हेक्टरमा भएको छ । यस्तै पूर्वी रुकुममा ८८ प्रतिशत रोपाइँ भएको छ ।
नवलपरासी जिल्लामा २० हजार ५ सय हेक्टर मध्य अहिले १३ हजार ३ सय २५ हेक्टरमा रोपाइँ भएको छ, यो ६५ प्रतिशत हो ।
बर्दियाको ४९ हजार ३३ हेक्टरमा रोपाइँ हुनुपर्नेमा २५ हजार ९ सय ८७ हेक्टरमा भएको छ । यो जिल्लामा ५३ प्रतिशत रोपाइँ भएको छ ।
रुपन्देही जिल्लामा ५७ प्रतिशत मात्र रोपाइँ भएको छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टरमा धान रोपाइँ हुने ठाउँमा अहिले ४४ हजार ८ सय ४५ हेक्टर भएको छ । यो कुल ६४ प्रतिशत हो ।
पाल्पामा ८ हजार २ सय १० हेक्टरमा रोपाइँ हुनुपर्नेमा अहिले ६ हजार ३ सय २२ हेक्टर क्षेत्रफल भएको छ, ७७ प्रतिशत हो ।
यस्तै गुल्मीमा ४ हजार ६ सय ७० हेक्टर हुनुपर्नेमा ३ हजार ९ सय २ हेक्टर अर्थात् ४५ प्रतिशत रोपाइँ भएको छ । उता अर्घाखाँचीमा ८ हजार ५० हेक्टर रोपाइँ हुनुपर्ने मध्ये ४ हजार २५ हेक्टरमा भएको छ, जुन ५० प्रतिशत हो ।