खेत बगर बनेपछि समस्यामा किसान
Tuesday, July 11th, 2023, 8:01 pm
Kalpristha
लिलाधर वली
घोराही, २६ असार
असार महिना सकिनै लाग्दा जिल्लाका अधिकांस ठाउँहरुमा किसानलाई धान रोप्न भ्याईनभ्याई छ । मानो छरेर मुरी उत्पादनका लागि किसानहरु धान रोपाईमा बेस्त भैइरहदा दाङको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका–६ रिभान गाउँका किसानहरुलाई भने चिन्ता थपिएको छ ।
बर्षौदेखि धान खेती गर्दै आएको खेत दाङबाङ खोलामा आएको बाढीका कारण बगरमा परिणत हुनका साथै पहिरो खसेर जमीन पुरेपछि स्थानीय धान खेती गर्नबाट बञ्चित हुन पुगेका छन् । घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगले चुनढुंगा निकाल्नका लागि सञ्चालन गरेका खानीहरुबाट जथाभावी रुपमा ढुंगा र गिट्टी दाङबाङ खोलामा खसाल्दा खोला थुनिएर गत असोज महिनामा खेती योग्य जमीनमा कटान गर्नुका साथै पहिरो खस्दा खेतपुरिएको किसानहरु बताउँछन् ।
खेती योग्य जमीनमा खोलाले ढुंगा हालेपछि बर्षैदेखि धान खेती हुने जमीन यसबर्ष बाँझै भएको बंगलाचुली गाउँपालिका वडा नं. ६ रिभान गाउँ निवासी खिमप्रसाद महराले बताए । नौ रोपनी खेत बाझै रहदा अव साँझ विहान खानका चामल किन्नुपर्ने बाध्यता थपिएको उनी बताउछन् ।
स्थानीय खिमबहादुरले भने,–‘दाङबाङ खोलाको छेउछोउमा रहेको खेतमा ३÷४ पुस्तादेखि खेती गर्दै आएका थियौ तर अहिलेसम्म जमीनमा खोलाले असर गरेको थिएन । तर सिमेन्ट उद्योगले चुनढुंगा निकाल्ने क्रममा प्रयोग नहुने ढुंगा र माटो खोलामा खसालिदिदा खोला थुनिएर खोलाले खेती योग्य जमीन खाइदियो । जस्ले गर्दा अहिले खेती गर्नुपर्ने समयमा खोत खोज्नुपर्ने अवस्था आइलागेको छ ।’
सिमेन्ट उद्योगले सञ्चालन गरेको चुनढुंगा खानीबाट जथाभावी रुपमा खोलामा खसालेको ढुंगाकै कारण खोलाले धार परिवर्तन गर्दा खेती योग्य जमीन कटानसँगै पहिरो खसेर खेत खाएको उनी बताउछन् ।
खेती योग्य जमीन सिमेन्ट खानीकै कारण खोलाले ढुंगा हालेको भन्दै गाउँपालिकाको न्यायीक समितिमा निवेदन दिएपनि कुनै सुनुवाई नभएको खिमबहादुरको गुनासो छ । ‘बर्षभरी खानका लागि धान उत्पादन हुने खेत हो तर यो बर्षदेखि बगर जस्तै बनेको छ । अहिले धान रोपेर हरियाली हुने खेत ढुंगैढुगाले भरिएको छ ।’–उनले भने । ९ रोपनी जग्गामा धान खेती गरेर १० जनाको परिवार पाल्ने गरेपनि अव चामल किन्नुपर्ने बाध्यता आइलागेको उनको भनाई छ ।
खिमबहादुरको जस्तै पीडा रिभानकै हिमलाल वलीको पनि रहेको छ । १४ रोपनी जमीन ढुंगा र माटोले पुरिएपछि धान रोप्ने समयमा किसान हिमलाल मन बहलाउनका लागि खेतमा पुग्ने गरेपनि निराश भएर फर्कने गरेको बताउदै उनले भने,–‘अहिले खेतीको समय छ । आकाशबाट पानी पर्दा खेतको याद आउँछ तर खेत भने पहिरोका कारण पुरिएको छ । बर्खामा धानसँगै हिउँदमा गहुँ, मसुरोलगायतका कृषि बाली उत्पादन हुने खेत ढुंगाले परिदा परिवार कसरी पाल्ने भन्ने समस्या थपिएको छ । कमाएर खानका लागि छोराहरु छैनन्, भएकी छोरीको विवाह भैसक्यो । बुढेस कालको सहाराका रुपमा त्यही खेत बाँकी थियो तर त्यो पनि खोलाले खाईदियो, अव परिवार कसरी पाल्ने भन्ने समस्या थपिएको छ ।’
खेती योग्य जमीन खोलाको गिट्टी,ढुंगासँगै माथिबाट पहिरो खसेर पुरिएपछि रिभानकै खगुराम डाँगी पनि समस्यामा परेका छन् । धान,गहु खेतीका लागि भएको जमीन सिमेन्ट उद्योगको लापरवाहीका कारण बर्वाद भएको डाँगी बताउँछन् ।
‘धान खेतीका लागि जमीन भनेकै त्यही दाङबाङ खोलामा थियो, तर सिमेन्ट उद्योगले खसालेको ढुंगाका कारण अहिले खेत भन्ने जस्तो पनि छैन । खेतभरी ढुंगा र पहिरोले पुरिएको छ । धान खेती गरेर घरपरिवारलाई बर्षभरी खान पुग्ने खेतमा खेती नहुँदा चामल किनेर खानुपर्ने बाध्यता भएको छ ।’–उनले भने । ‘उद्योगको लापरवाहीका कारण एक जनाको मात्रै होइन, अधिकांश स्थानीयको खेतमा समस्या भएको छ । हामीले कुरा उठाउँदा सिमेन्ट उद्योगका प्रतिनिधिले हाम्रा कुराहरु सुन्दैनन् ।’
दाङबाङ खोलाले खिमबहादुर, हिमलाल र खगुरामको मात्रै जग्गा खाएको छैन, उहाँहरु जस्तै रिभान गाउँका ६० घरपरिवारको एक सय ५० रोपनी बढी जमीन खोला र पहिरोले तहसनहस बनाएको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी बताउछन् । सिमेन्ट उद्योगहरुले सञ्चालन गरेका खानीहरुकै कारण खेती योग्य जमीनमा खोलो ढुंगा र बालुवा हालेको, खोलाले जमिन कटान गरेको र पहिरो खसेर जग्गा पुरेको भन्दै निवेदन परेको उनले जानकारी दिए । न्यायीक समितिमा निवेदन परेपछि यस विषयमा उद्योगहरुलाई जानकारी गराइएको भएपनि दुवै पक्षलाई राखेर समस्या समाधानका लागि पहल हुन नसकेको उनले बताए ।
उपाध्यक्ष जिसीले भने,–‘खेती योग्य जमीनमा उद्योगहरुका कारण समस्या परेपछि स्थानीयले न्यायीक समितिमा निवेदन दिनुभएको छ । हामीले यो विषयमा उद्योगका प्रतिनिधिहरुलाई जानकारी गराएका छौं । तर उहाँहरु समस्या समाधानका लागि छलफलमा आउन सक्नुभएको छैन ।’ उपाध्यक्ष जिसीले तत्काल दुवै पक्षलाई एक ठाउँमा राखेर समस्या समाधानका लागि पहल गर्ने कार्य भैइरहेको समेत बताएका छन् ।