डोल्पाका कृषकलाई लाहुँरे भैंसी वितरण
Wednesday, July 19th, 2023, 8:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, ३ साउन
पछिल्लो समय सदरमुकाम दुनैमा दुधको अभाव हुन थालेपछि पशुसेवा कार्यालय डोल्पाले व्यवसायिक कृषकलाई समुह मार्फत लाहुँरे (ब्याएको)भैसी खरिद गरेर वितरण गरेको छ ।
कर्णाली प्रदेश सरकारको भैसी प्रवद्र्धन कार्यक्रम अन्र्तगत कृषक समुहलाई भैसी वितरण गरेको पशुसेवा कार्यालय दुनैले जनाएको छ ।आर्थिक वर्ष ०७९–०८० को स्वीकृत रकमवाट ठूलिभेरी नगरपालिका वडानम्बर २ लोचास्थित तामाखानी कृषि तथा पशुपंक्षी सहकारी संस्थाको साझेदारीमा सहकारीका सदस्यहरुलाई भैंसी वितरण गरिएको पशुअस्पताल तथा पशुसेवा कार्यालय डोल्पाका निमित्त प्रमुख जरबहादुर भक्रीले बताए ।
प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल जिल्ला प्रहरी कार्यालयका डिएसपी शिब बुढाथोकी नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा लगायत विभिन्न राजनीतिकदलका प्रमुख तथा प्रतिनिधिको सहभागितामा १० ठूलो(ब्याएको) र ८ वटा सानो बच्चा समेत गरेर १८ वटा तामाखानी कृषि तथा पशुपंक्षी सहकारी संस्थालाई औपचारिक कार्यक्रम गरेर हस्तान्तरण गरिएको हो ।
पशुसेवा कार्यालयको १२ लाख र तामाखानी कृषि तथा पशुपंक्षी सहकारीको ३ लाख रुपियां गरी पन्ध्र लाखको लागतमा भैसी पाडा र दाना घाँस कृषकको भैसी खरिद गर्न जाँदा लागेको आवतजावत खर्च समेत गरी पन्ध्र लाखमा खरिद गरिएर वितरण गरिएको हो ।
विगत देखि व्यवसायिक भैसी पालन गरिरहेका सहकारी पाँच जना सदस्यलाई व्यवसाय विस्तार र नयाँ पाँच जनालाई व्यवसायिक भैसीपालन तर्फ आर्कसित गरी बजारमा भइरहेको दुधको अभावलाई न्युनिकरण गर्न १० जना कृषकलाई वितरण गरिएको वडाअध्यक्ष कमलबहादुर क्षेत्रीले बताए ।
ठुलिभेरी नगरपालिका वडानम्बर ३ मा रहेको दुनै बजारमा उपभोक्ताहरुले सहजरुपमा दुध पाउने वातावरण सृजना गरी ब्यसायिक कृषकको आम्दानी बृद्धिको लागि कार्यक्रले सहयोग पुग्ने पनि सहकारीले जनाएको छ ।