नेपालगन्जको मुख्य नाला फराकिलो हुँदैं
Sunday, July 23rd, 2023, 9:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ साउन
नेपालगन्जको सुर्खेतरोडस्थित ठुलो नालाको पुलको निकासलाई फराकिलो गर्नका लागि निमार्ण कार्य शुरु भएको छ ।
केही वर्ष अगाडी निमार्ण भएको करिब ८–१० मिटरको नालाको चौडाई निमार्ण गरिएपनि बीचको भाग (निकास) तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर वर्षेनी नेपालगन्ज नगर डुबानमा पर्ने समस्या अन्त्य गर्न अहिले नाला निर्माण थालिएको हो । पहिला निर्माण गर्ने कम्पनीको चरम लापरवाहीका कारण नाला फराकिलो भएपनि बीचको भाग तीन मिटरको साँगुरो बनाएका कारणले नेपालगन्जबासीले सास्ती भोग्दै आएका थिए ।
प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीको विशेष पहलमा उक्त समस्याका बारेमा केन्द्रीयस्तरसम्म पहल पश्चात उक्त निमार्णको कार्य शुरु भएको स्थानीयबासीले बताएका छन । वर्षौदेखिको उक्त समस्याका बारेमा नेपालगन्ज सेतुविक चोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायतका स्थानीयले पटक पटक नेपालगन्ज उप–महानगरपालिका, सडक डिभिजन लगायतसंग आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि सांसद तिवारीले यो सवाललाई संघीय सरकारसमक्ष दबाब दिएपछि निमार्णको कार्य अघि बढेको हो ।
सांसद तिवारीले नेपालगन्ज–सुर्खेतरोड सडक खण्डअन्र्तगत मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकासका लागि सम्वन्धित सरोकारवालासँग पुगेर पहल गर्दा कार्य शुभारम्भ भएको भन्दै खुशी व्यक्त गरिन् ।
तीनदिन अघि पुल चौडाई गर्नका लागि काम शुरु भएको सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख निरज शाक्यले बताए । उनका अनुसार नालाको चौडाई गर्नका लागि रु ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन नेपालगन्जले ठेक्का लिएको छ ।
नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज शहर डुब्ने समस्याको अब अन्त्य हुनेछ । नेपालगन्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ ।
नाला निमार्णको विषयले अहिले सामाजिक सञ्जालमा खुबै चर्चा पाएको छ । एक अर्काविच आरोप प्रत्यारोप चलिरहेको छ ।

..