कांग्रेस नेता श्रेष्ठ माथि चक्कु प्रहार
Monday, July 24th, 2023, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ साउन
नेपाली कांग्रेस बाँके प्रदेश २ (ख) का उपसभापति अभिषेक श्रेष्ठ (जोण्टी) माथि चक्कु प्रहार भएको छ । उपसभापति श्रेष्ठलाई शनिबार राति १० बजे नेपालगञ्जको त्रिभुवन चोकमा ५÷६ जना युवासंगै रहेका ’भेवा’ भनिने प्रदिप गुप्ताले मुखमा चक्कु प्रहार गरेका थिए ।
चिया पसलमा चियाको पैसा तिर्दै गर्दा उनीमाथि एक्कासी आक्रमण गरिएको थियो । चक्कु प्रहारबाट घाइते भएका उपसभापति श्रेष्ठको मुखमा ६ वटा टाँका लगाइएको छ । श्रेष्ठले अस्पतालबाट डिस्चार्ज भएर अहिले बेड रेस्टमा रहेको बताए । शनिबार राति त्रिभुवन चोकमा प्रदिप गुप्ताले आफूलाई चक्कु प्रहार गरेको उपसभापति श्रेष्ठले बताए । प्रदिपसँग अरु ५÷६ केटाहरु रहे पनि आफूले उनीहरुलाई नचिनेको श्रेष्ठले बताए । श्रेष्ठले आफूमाथि चक्कु प्रहार गर्नेलाई कडा कारबाही गर्न प्रहरीसँग माग गरेको बताएका छन् ।
यता घटनाको विरोधमा नेपाली कांग्रेस प्रदेश २ (ख) का सभापति जितेन्द्र बहादुर हमालले विज्ञप्ति मार्फत आक्रमण गर्ने युवाहरुको समूहमाथि कारबाही गर्न माग गरेका छन् ।
उपसभापति श्रेष्ठमाथि चक्कु प्रहार भए लगत्तै प्रहरीले आक्रमण गर्ने समूहको नेतृत्व गरेका प्रदिपलाई पक्राउ गरेको थियो ।
यसअघि पनि गुण्डागर्दी र लागूऔषधसहित सार्वजनिक स्थलमा खुलेयाम गोली प्रहार गर्ने लगायतका गतिविधिमा लागेका प्रदिप केही दिन अघि मात्रै अदालतबाट धरौटीमा रिहा भएको बताइएको छ ।