नेपालले चाहेर मात्रै छोटी भन्सार सञ्चालन नहुने
Wednesday, July 26th, 2023, 9:00 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ६ साउन
बाँके जिल्लामा रहेका सात वटा छोटी भन्सार पुनःस्थापना हुन सकेका छैनन् । जिल्लामा अवस्थित सात वटा छोटी भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठ्ने भन्सार राजस्वसमेत ठप्प भएको छ । अहिले जिल्लामा रहेका सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडंैचा होलिया, हिरमिनियाको भंघोटना, साइगाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकाका छोटी भन्सार कार्यालय बन्द रहेका छन् ।
जसको फलस्वरुप कुनैबेला १ सय ३० प्रतिशतसम्म राजस्व उठ्ने नेपालगन्ज भन्सार कार्यालयमा यसपटक भने ६० प्रतिशत मात्रै राजस्व संकलन भएको छ । बाँके जिल्लाको सिमानाको ६४ किलोमिटर सिमाना भारतसँग जोडिएको छ ।
‘भएका छोटी भन्सार सञ्चालनमा आउन भारतले पनि त्यस्तै छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउनुपर्छ । त्यसपछि मात्रै यहाँबाट भन्सार सञ्चालन हुन सक्छ,’–भन्छन्, भन्सार कार्यालय नेपालगन्जका भन्सार अधिकृत तथा सूचना अधिकारी डिलु प्रसाद शर्मा ।
लामो समयदेखि कार्यालय पुनःस्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचना जीर्ण भएका छन् । उनले भारतले पनि ‘काउन्टर पार्ट’ स्थापना गरे छोटी भन्सार सञ्चालन हुन सक्ने जानकारी दिँदै नेपालले चाहेर मात्रै छोटी भन्सार सञ्चालन हुन नसक्ने बताए ।
यस्ता छोटी भन्सारबाट साना सामग्री धेरै आउने गरेको उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अव्दुल वाहिद मन्सुरी ‘चुन्ना’ बताउँछन् । ‘यस्ता स्थानहरुबाट अत्यधिक रुपमा सामानहरुको अवैध तस्करी हुने गरेको छ । यसले राज्य र यहाँका उद्योगी व्यापारी दुवैलाई अत्यधिक घाटा भईरहेको छ,’–उनले भने ।
गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ती बाटोबाट खुलेआम तस्करी हुने गरेको बताउँदै उनले यसतर्फ सरकारको यथाशिघ्र ध्यान जान जरुरी रहेको बताए ।
भारतबाट अवैधरूपमा हुने चोरी पैठारीले लक्ष्यअनुसार भन्सार राजस्व सङ्कलन गर्न सकिएको छैन । यसले स्थानीय व्यवसायीको व्यवसाय धरापमा पर्दै आएको उनको भनाई छ । साथै चुन्नाले लामो खुला सिमानामा एउटा मात्र भन्सार हुँदा चोरी पैठारी अत्यधिक बढेर राजस्व सङ्कलनसँगै व्यापार व्यवसाय समेत प्रभावित भएको बताए ।
‘छोटी भन्सार सन्चालन नहुनुले राज्य र व्यवसायी दुवैलाई घाटा भईरहेको छ । यसकारण तत्काल छोटी भन्सार पुनःस्थापना गर्नु जरुरी छ । जवकी भन्सार कार्यालयको ढड्डा मै एक सय रुपैंया भन्दा बढीको सामान ल्याए राजश्व तिर्नुपर्ने कुरा लेखिएको छ । यद्यपी त्यसो हुन भने सकेको छैन ।’

….