विद्युत प्राधिकरणले लाइन काटेपछि घोराहीको मुख्य सडक अन्धकार
Saturday, July 29th, 2023, 7:16 pm
Kalpristha
लिलाधर वली
दाङ, १३ साउन
नेपाल विद्युत प्राधिकरण घोराही शाखाले विद्युत लाइन काटिदिएपछि घोराहीको मुख्य सडक एक महिनादेखि अन्धकार हुँदै आएको छ । उज्यालो घोराही कार्यक्रम अन्तर्गत घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको मुख्य सडकमा सडक बत्ती जडान गरिएको थियो ।
सडक बत्तीका लागि एपेक्स नेपाल प्रालिसँग घोराही उप–महानगरपालिकाले सम्झौता गरेको थियो तर कम्पनीले विद्युत महशुल नबुझाएपछि सडक बत्तीको लाइन नेपाल विद्युत प्राधिकरण घोराही शाखा कार्यालयले काटिदिएपछि मुख्य सडक अन्धकार हुँदै आएको छ । सडक बत्ती बालेबाफतको रकम नतिर्दा तुलसीपुर चोकदेखि वीपी चोकसम्मको मुख्य सडकको बत्तीको लाइन काटनु परेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ ।
सडक बत्तीको महशुल साउन ११ गते विहीवारसम्म ६७ हजार ८ सय ३४ रुपैयाँ ४४ पैसा एपेक्स नेपाल प्रालिले तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण घोराहीले जनाएको छ । उक्त पैसा नतिरेपछि लाइन काटिएको हो । घोराही उपमहानगरपालिका वडा नम्वर १५ स्थीत तुलसीपुर चोक रहेको ३५१६ आइडी नम्वर (ग्राहक नम्वर ००२.२९.८०३)बाट विद्युत प्रयोगमा ल्याइएको थियो ।
कम्पनीले २०७९ जेठ महिनादेखि विद्युत महशुल नतिरेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाका लेखाअधिकृत डिल्लीराज आचार्यले बताएका छन् । सडक बत्ति बल्न छाडेपछि जोखिम समेत बढेको घोराही उप–महानगरपालिका वडा नं. १५ अन्तर्गत रहेको गौतम बुद्ध टोल विकास संस्थाका अध्यक्ष मिनराज घिमिरे बताउँछन् । सडक बत्ती बल्न छाडेपछि रातको समयमा अध्यारो हुने हुँदा चोरी तथा दुर्घटना हुने जोखिम बढेको घिमिरेले बताए ।
घोराहीमा एपेक्स नेपाल प्रालि र घोराही उप–महानगरपालिकाबिच सम्झौता गरेर करिव तीन बर्षअघि सडकमा बत्ती जडान गरिएको थियो । सडक बत्तीको जडान सुरक्षा समेत प्रालिले गर्ने गरी सम्झौता भएको थियो । तर पोलमा राखिएका विज्ञापनको रकम प्रालिले उठाउने र नगरपालिकालाई विज्ञापन करबापतको निश्चित कर तिर्ने सहमति भएपनि कम्पनीले विद्युत महशुल बाँफतको रकम नतिर्दा विद्युत कार्यालयले विद्युत लाइन काटिदिएको छ ।