खजुरा क्यान्सर अस्पतालको सेवा सुधार्दै डा. भट्टराई
Saturday, August 5th, 2023, 7:06 pm
Kalpristha
वीरेन्द्र जैसी
नेपालगन्ज, २० साउन
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आर्थिक वर्ष २०७८–७९ मा २९ हजार नौ सय १३ जना बिरामीहरुले ओपिडी सेवा लिएका थिए । २०८९ सालसम्म अस्पताललमा क्यान्सरसँगै अन्य किसिमका बिरामीहरुलाई पनि बिमा लगायतका सहुलियत सेवा दिने गरिएको थियो । २०७९ असोज २९ गते अस्पतालको डा. निरज भट्टराईले प्रमुखको जिम्मेवारी पाएपछि उनले अस्पताललाई क्यान्सरको विशिष्टिकृत अस्पतालकै अवधारणमा अघि बढाउनुपर्ने भन्दै क्यान्सर केन्द्रित रोगका बिरामीलाई मात्रै सेवा दिने र अन्य जनरल बिरामीहरुलाई भेरी अस्पतालमा पठाउने रणनीति अपनाए । यसले अस्पतालमा बिरामीहरुको संख्या कम हुने जोखिम पनि थियो । तर, त्यसो भएन । गएको एक वर्ष (आव २०७९–८०) मा पनि अस्पतालमा २९ हजार दुई सय ५५ जना बिरामीहरुले ओपिडी सेवा लिए । ती सेवाग्राहीहरु क्यान्सरको शंका लागेका वा क्यान्सर भइसकेका बिरामीहरु मात्रै रहेका डा. भट्टराई बताउँछन् । उनी भन्छन्, ‘हामीले अस्पताललाई क्यान्सरको विशिष्टिकृत अस्पताल बनाउनेतिर नै लक्षित भएर काम गरिरहेका छौँ । यति धेरै सेवाग्राहीहरु यहाँ आउनुले हामीप्रतिको विश्वासलाई पनि प्रतिबिम्बित गर्छ ।
२०७४ असार ११ गते औपचारिक सेवा प्रारम्भ गरेको अस्पतालले अहिले उल्लेखनीय प्रगति गरेको छ । २०७६–७७ मा मात्र चार हजार ६ सय ९२ जना सेवाग्राहीले ओपिडी सेवा लिएको अस्पतालमा अहिले २९ हजार बढी सेवाग्राही पुगेका छन् । आर्थिक वर्ष २०७८–७९ मा सात सय २० जनाको अपरेशन भएकोमा आर्थिक वर्ष २०७९–८० मा सात सय ३१ जनाको अपरेशन अस्पतालमा भएको छ । दुईवटा अत्याधुनिक अपरेशन थिएटर मार्फत अस्पतालमा क्यान्सरका बिरामीहरुको अपरेशन हुने गरेको छ ।
अस्पतालको सेवा गुणस्तरीय बनाउने अभियानमा आफू आएदेखि नै प्रयन्तरत रहेको प्रमुख डा. भट्राई बताँउँछन् । उनी प्रमुख भएर आउँदा अस्पतालको बहुप्रतिक्षित लिन्याक मेसिन प्रक्रियागत व्यवधानका कारण लामो समयदेखि भन्सारमा अड्किरहेको थियो । अस्पतालमा कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि डा. निरज भट्टराईले सबैभन्दा पहिले उक्त मेसिन ल्याउने प्रक्रियाका लागि दौडधुप गरे । स्वास्थ्य मन्त्रालय लगायतका निकायमा पहल गरेपछि लिन्याक मेसिन अस्पतालमा आइपुगेको छ । मेसिन सन्चालनमा आएसँगै खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमै रेडियशनका माध्यमबाट क्यान्सरको सेकाई गरेर उपचार गर्ने एक मात्र र पहिलो अस्पताल बन्नेछ । आफू आइसकेपछि मेसिनको कागजातहरुमा केही तथ्य बाझिएपछि मन्त्रालयलाई छानबिनका लागि आग्रह गरेको र मन्त्रालयको टोलीले अध्ययनपश्चात मेसिन जडान अघि बढाउन आदेश दिएका कारण मेसिन सन्चालनमा आउन केही ढिलाई भएको उनले बताए । अहिले उक्त मेसिन इन्स्टलेशनको अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।
लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । करिब २७ करोड मुल्यको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरेर उपचार गर्र्ने अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले बताउँछन् । अहिले बिरामीहरु उक्त मेसिनको सेवा लिन भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ ।

…………
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा सेवा सुरु भएको ६ वर्ष बितिसक्दा पनि अस्पतालको स्थायी दरबन्दी तय भएको छैन । अस्पताललाई काजमा खटाइएका चिकित्सक र करारमा सेवा दिइरहेका चिकित्सकले धानिरहेका छन् । डा. भट्टराईले आफू आएपछि अस्तालमा स्थायी दरबन्दीका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम सर्भे) गरेका छन् । अस्पताललाई पूर्ण सेवामा पु¥याउन चार सय जना कर्मचारी आवश्यक पर्ने प्रक्षेपणसहित उक्त सर्भे प्रतिवेदन मन्त्रालयमा पठाएर स्वीकृतिको प्रक्रियामा जान लागिएको पनि भट्टराईले जानकारी दिए । हाल अस्पतालमा १५ जना विशेषज्ञ चिकित्सकहरु रहेका छन् भने अधिकृतस्तरका ४५ जना रहेका छन् ।

………..
क्यान्सरका निको नहुने अवस्थामा पुगिसकेका बिरामीहरुलाई हुने पीडा कम गर्ने गरी हेरचाह सेवाको लागि पूर्वाधार पनि अस्पतालमा अभाव थियो । अस्पतालले लायन्स क्लबसँग सहकार्य गरेर त्यस्ता बिरामीहरुलाई राहत दिएर उपचार गर्ने प्रशामक सेवा(प्यालिएटिभ केयर) भवनको काम पनि रोकिएको थियो । डा. भट्टराई लायन्स क्लबका पदाधिकारीसँग यसबारेमा छलफल गरी उक्त भवन निर्माणको काम अघि बढाउन पहल गरे । उक्त भवनको काम पनि अब अन्तिम चरणमा रहेको छ । उक्त भवन सन्चालनमा आएसँगै क्यान्सरबाट पीडा भोगिरहेका बिरामीहरुलाई पीडा कम गराएर राख्न मिल्ने सेवा पनि अस्पतालमा सुरु हुनेछ ।

…….
डा. भट्टराईको पहल र स्वास्थ्य मन्त्रालयको समन्वयमा भारतीय दूतावासले अस्पताललाई एउटा एम्बुलेन्स र एउटा स्टाफ बस पनि प्रदान गरेको छ । यसैगरी भन्सारले लिलाम गरेको एउटा जीप पनि अस्पतालले यस अवधिमा प्राप्त गरेको छ । अस्पताल परिसरमा खजुरा गाउँपालिकाले हाइमास्ट लाइट जडान गरिदिएको छ भने डेडिकेटेड लाइनको व्यवस्थापन हुन लागेको छ । अस्पतालमा खजुरा गाउँपालिका तथा रेडक्रस बाँकेको समन्वयमा ब्लड बैंक पनि स्थापना हुँदैछ भने एस्फेरेसिस मेसिन पनि अस्पतालले सन्चालनम ल्याउँदै छ । अस्पतालमा चौबिसै घण्टा ल्याब तथा एक्स रे सेवा, अललाइन अपोन्टमेन्ट र रिपोर्ट दिने सेवा सुरु भएको छ भने निःशुल्क औषधिको व्यवस्थाका लागि एक दातृ संस्थासँग सहकार्य गरिँदै छ । अस्पतालमा बाल क्यान्सरको उपचार सेवा, नेपालगन्ज र कोहलपुर अस्पतालसम्म बस सेवा, ल्याब तथा फार्मेसी भवन, इलेक्ट्रिकल सटल बस सेवा, लिक्विड अक्सीजनको लागि पनि पहल भइरहेको डा. भट्टराईले जानकारी दिए । यसका साथै विभिन्न तहका सरकारमार्फत आफ्नो क्षेत्रमा जनतालाई सहुलियतमा सेवा दिने योजनाका लागि पहल भइरहेको डा. भट्टराईले बताए । यसैगरी, अस्पतालमा भर्ना भएका बिरामीहरुलाई निःशुल्क वा सस्तो शुल्कमा खाना खुवाउने पहल पनि भइरहेको छ ।

……………….
कार्यकारी निर्देशक डा. भट्टराई अब क्यान्सर विशिष्टिकृत अस्पतालको अवधारणा पूरा गर्ने लक्ष्यको नजिक रहेको बताउँछन् । डाक्टर भट्टराई स्वयं पश्चिम नेपालमा कार्यरत मुटु, फोक्सो र रक्तनलीको एक्ला सर्जन हुन् । उनी अस्पतालमा आएपछि फोक्सोको क्यान्सर, रक्तनली, खाद्यनली तथा स्तन क्यान्सरका जटिल प्रवृत्तिका शल्यक्रियाहरु पनि हुन थालेका छन् । यस्का अलावा डायालाइसिस गर्ने बिरामीहरुका लागि बनाउन पर्ने फिस्टुलाको अपरेसन पनि अस्पतालमा हुन थालेको छ । जसका लागि बिरामीहरु काठमाडौं धाउनपर्ने अवस्था थियो । डा. भट्टराई भन्छन्, ‘अस्पतालको सेवा बिस्तार गर्ने, सेवाको गुणस्तर वृद्धि गर्ने, बिरामीहरुलाई सहज र सुलभ प्रक्रियाबाट सेवा दिने काममा मेरो प्राथमिकता छ ।’
अस्पतालमा मेडिकल अंकोलोजी, सिटी स्यानको माध्यबाट गरिने वायोप्सी, किमोथेरापीलगायत सबै किसिमका क्यान्सरको पहिचान र उपचार सेवा दिनसक्ने अवस्थामा पुगेको छ । अप्रेशन थ्रियटर, प्रयोगशाला, रेडियोलोजी विभाग, किमोथेरापी, हिष्टोप्याथोलोजी, ब्राकीथेरापी र कल्पोस्कोपीगायतका संरचनाहरु तयार भएर सेवा सन्चालन भइरहेको छ ।

……………………….
२०६५ सालमा स्थानीय जनताहरुले महायज्ञमार्फत आर्थिक संकलन सुरु गरी पछि नेपाल सरकारले जिम्मा लिएको उक्त अस्पताल सुविधा बिस्तार र सेवा सुधारमा निरन्तर प्रगति गरिरहेको प्रष्ट देखिन थालेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक मात्र क्यान्सर अस्पतालमा ४० जिल्लाका बिरामीले सेवा लिने गरेका छन् । उपचार सेवा सुरु भएका लामो समयसम्म पनि क्यान्सर अस्पतालमा बिरामीको प्रारम्भिक चेकजाँच गर्ने, शंकास्पद बिरामीलाई थप उपचारका लागि भक्तपुरस्थित क्यान्सर अस्पतालमा पठाउने, बिरामीहरुलाई किमो दिने लगायतका काम मात्रै हुँदै आएका थिए ।
एक सय बेडको स्वीकृति पाएकोमा हाल ५७ बेडमा सेवा दिइरहेको अस्पतालमा अब सरकारले दरबन्दी तय गरी विशेषज्ञ सेवा थप गर्नू र सेवाको गुणस्तर वृद्धिका लागि ध्यान दिनु आवश्यक रहेको छ । साथै, अस्पतालका सेवाहरुबारे बिरामीहरुसम्म जानकारी पु¥याउनु एवं क्यान्सरकोबारेमा सचेतनाका कामहरुलाई अझै बिस्तार गर्नु जरुरी रहेकोे छ ।
यसका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले क्यान्सरका बिरामीलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरेमा थप ५० हजारको सुविधा दिने व्यवस्था गरेमा विपन्न समुदायले ठूलो लाभ प्राप्त गर्ने उनले बताए । यसैगरी, नेपाल एयरलायन्सले विकट जिल्लाबाट आउने क्यान्सरका बिरामीलाई पनि भारतमा उपचार गर्न जाँदा दिने हवाई भाडा छुट दिएमा ठूलो राहत मिल्ने उनको भनाइ छ । नेपाल एयरलाइन्सले भारतमा क्यान्सरको उपचारका लागि जाने बिरामीलाई पहिलो पटकमा सय प्रतिशत, दोस्रो पटक ५० प्रतिशत र तेस्रो पटक २५ प्रतिशत तथा बिरामीसँगै जाने कुरुवालाई करिब ५० प्रतिशत छुट दिँदै आएको उनले बताए ।