अठहत्तर वर्षपछि सेज कुलो भत्कियो
Saturday, August 5th, 2023, 7:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, २० साउन
त्रिपुराकोटको पुरानो सेजकुलो भत्किएपछि भूत पुजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित मसानजाड तल्लोचुकेनी सम्मको अठहत्तर वर्ष पुरानो सेज कुलो भत्के पछि मसानजाड भूत रिसाएको भन्दै त्रिपुराकोटका स्थानीयले भूत शान्त बनाउन पुजा गरेका हुन ।
त्रिपुराकोटका एक सय २० घरधुरीले अक्षता ध्वजापतका र दक्षिण समेत उठाएर भत्केको सेजकुलोको माथिल्लो भागमा ८३ वर्षिय धनप्रसाद हमाल र तल्लो भागमा ८६ वर्षीय रविप्रसाद न्यौपानेको हातबाट पुजाआजा गरिएको हो ।
विक्रम सम्वत २००२ सालमा पनि सेजकुलो बनाउने क्रममा मसानजाड भूत रिसाएर नवनिर्मित कुलो भत्काउने गरेको र देवीदेवताको निर्देशनमा बोका भाले सहित ध्वजापतका चढाएर पुजा गरेदेखि हालसम्म कुनै क्षेति नभएको स्थानीय बयोबृद्ध धनप्रसाद हमालले बताए ।
तर आव ०७९।८० को खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय डोल्पाको मातहतमा निर्माण उपभोक्ताले नयाँ कुलो निर्माण गर्ने क्रममा भुतको पुजा नगरेकाले पटक पटक गरेर तीन पटक पक्की कुलो भत्केपछि स्थानीय धामाघाडी देवताले भूत रिसाएको र शान्ति पुजा नगरे सम्म सेज कुलो बलियो नहुने निर्देशन दिएपछि स्थानीयले २००२ सालपछि २०८० सालमा आएर दोस्रो पटक पुजाआजा गरिएको टिकादत्त न्यौपानेले बताए ।
भूत पुजामा सरिक स्थानीयले हाम्रो पुर्खादेखि संचालनमा आएको सेजकुलो भत्केपछि धान लगायतका अन्नवाली पानी लगाउन नपाएर सुक्न थालेको गाउँको शोभा नै हराएकोले बाँध बलियो बनाइदेउ कुनै विग्नबाधा नपरोस भन्ने भाकल समेत गरेर पुजा गरिएको पुजारी टंकप्रसाद उपाध्यायले जानकारी दिए ।
भूत पुजा गरेपछि नव निर्मित सेज कुलो बलियो भई सिचाई सुविधा सहज हुने अपेक्षा स्थानीयले गरेका छन् । भूत पुजा गर्न त्रिपुराकोट गाउँका महिला पुरुष समाजसेवी सबैको सहभागिता रहेको थियो ।
फोटो क्याप्सन त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित मसानजाड तल्लो चुकेनीमा रहेको पुरानो सेजकुलो बलियो बनाउन भूत पुजा गर्दै स्थानीय ।