सुनचाँदी व्यवसायी संघ अध्यक्षमा पुनः सलाउद्दीन
Saturday, August 5th, 2023, 7:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० साउन
नेपालगन्ज सुनचाँदी व्यवसायी संघको सातौ साधारण सभाबाट सलाउद्दीन जसगढ निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार भएको संघको सातौं साधारणसभाबाट अध्यक्ष सहित अधिकांश पदमा निर्विरोध चयन गरिएको छ । नेपालगन्ज सुनचाँदी व्यवसायी संघको सातौं साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन भएको छ ।
उपाध्यक्ष बाहेक अन्य पदाधिकारी तथा सदस्यहरुको निर्विरोध चयन भएको हो । जसको अध्यक्ष लगायत अधिकांश पदाधिकारी तथा सदस्यहरु दोहोरिएका छन भने, उपाध्यक्षमा दुई जनाको स्थानमा तिन जनाले उम्मेदवारी जाहेर गरेको हुँदा सकेसम्म मिलाएर लैजान कोसिस भईरहेको संघका नवनिर्वाचित महासचिव सुख नारायण सुनारले जानकारी दिए ।
सलाउद्दिन जसगढको नेतृत्वमा महासचिव सुखनारायण सोनार, उप–महासचिव मोहम्मद असलम जसगढ, कोषध्यक्ष हिमान्शु वैश्य तथा सह–कोषध्यक्षमा मो. हाशिम अन्सारी लगायत अन्य आठ जना सदस्य निर्वाचित भएका छन् ।
त्यसअघि संघका अध्यक्ष सलाउदिन जसगढको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य, संघीय सांसद डा. धवल शम्सेर राणाको सहभागिता रहेको थियो ।
संघको सातौं साधारणसभाको अवसर पारेर संघको नवनिर्मित भवन समेत उद्घाटन गरिएको छ ।
त्यस अवसरमा संघको सातौं साधारणसभाको सफलताको शुभकामना दिंदै संघीय सांसद डा. राणाले सुनचाँदी व्यवसायीहरुको लागि गर्नुपर्ने नितिगत पहल र पैरविका लागि आफु संधै तयार रहेको बताए । साथै उनले आफुलाई त्यसका लागि गर्नुपर्ने सबै काम गर्ने प्रतिबद्वता जाहेर गर्दै सल्लाह र सुझावको लागि समेत अपिल गरे । व्यवसायीका हकहितको लागि सक्ने सहयोग गर्न आफु हमेसा तयार रहेको उनको भनाइ थियो ।
संघको सातौं साधारण सभाको उद्घाटन सत्रमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यले बजारमा तरलताको अभाव र सुन तस्करीका कारण सुनचाँदी व्यवसायीहरु खतरामा परेको बताए । यस्तै उनले नितिगत कुरामा राज्यले सुनचाँदी व्यवसायीहरुलाई असहयोग गरेको उल्लेख गरे ।
साथै उनले, १० कक्षा सम्मको पढाई पछि उच्च शिक्षामा समेत सुनचाँदीका गहना निर्माण र व्यवसाय सम्बन्धि पढाउनको लागि आवश्यक पाठ्यक्रम समेत तयार भईसकेको बताए । त्यसखालको शिक्षा प्रदान गर्न सके पहिचान संगै मौलिकता पनि जोगिने उनको भनाइ थियो ।