कमल खत्री नेपालगन्ज, २१ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदैं छ । भदौं २ गते हुन लागेको निर्वाचनमा यहाँका व्यवसायीहरु व्यस्त छन् । निर्वाचनमा सबल र सक्षम नेतृत्व छनोट गर्नको लागि व्यवसायीहरु मन्थन गरिरहेका छन् । यता उम्मेवदारहरु पनि आम मतदातासँग गएर आफना प्रतिवद्धता र वाचा प्रस्तुत गरिरहेका छन् ।
व्यापारीहरुको निर्वाचनले व्यस्त बनेको नेपालगन्जमा थुप्रै उम्मेदवारहरु मैदानमा छन्, त्यसमध्येका युवा उम्मेदवार हुन बल बहादुर विष्ट ‘बबी’ । बबी उपनामले चिनिने बल बहादुर विष्टको निर्वाचनमा मतदाता क्रम संख्या १० हो ।
साझा लोकतान्त्रिक समुहबाट सदस्य पदमा उम्मेदवारी दिएका बबी ‘ओम सप्लार्स’का संचालक हुन् । नेपालगन्जको मुटु धम्बोझी चोक नजिकै छ, ओम सप्लायर्स । जहाँ प्लाष्टिक र किचन वेयरका सामान पाउन सकिन्छ । नेपालगन्जमा लोकप्रिय थोक तथा होलसेल प्लाष्टिक र किचन वेयर पसलका रुपमा ओम सप्लायर्सले आफनो परिचय बनाएको छ । जुन परिचय बनाउन बबीलाई १८ वर्ष लाग्यो ।
भारतीय सेनामा जागिर थिए बबीका बुबा जगत बहादुर विष्ट । दैलेख डुगेश्वरी–२ जन्मिएका बबी सशस्त्र द्धन्द्धका बेला पिडित बनेपछि २०५८ सालमा बुबा, आमा मनसरा देवी विष्ट सहित विष्ट परिवार नेपालगन्ज–१ वाटरपार्कमा बसाई सरेको थियो । लाहुरे परिवारमा जन्मिएपनि बबीको रुची व्यवसायमा थियो । उनले आफनो रुची अनुसारको काम सुरु गरे २०६२ मंसिर ६ गते देखी । पुष्पलाल चोकमा १ लाख लगानीबाट प्लाष्टिकका सामान बिक्री गर्ने पसल सुरु गरे ‘ओम प्लाष्टिक’ ।
व्यापारमा अनुभव बढदै गएपछि २०७२ सालमा प्लाष्टिकसँग मिल्ने भएकोले भान्सामा चाहिने सामानहरु थप्दै नयाँ नाम राखे ‘ओम सप्लायर्स’ । व्यवसायमा थप फड्को मार्दै गएका छन् बबीले । ओम सप्लायर्स अहिले दाङदेखि यता पश्चिम नेपालको लागि विभिन्न कम्पनीका सामानहरु विक्री गर्ने आधिकारिक बिक्रेता बनेको हो । यस बाहेक उनले श्रीमती रेनु कुमारी विष्टको नाममा ‘ममता प्लाष्टिक’ पसल संचालन गरिरहेका छन् । ओम सप्लायर्समा बबीलाई दरिलो साथ दिइरहेकी छिन उनकी श्रीमती रेनुले । बबी र रेनुसँगै १० जना कर्मचारी ओम सप्लायर्समा दैनिक काम गर्ने गर्छन् । एमए सम्मको अध्ययन गरेर पनि रेनुले व्यवसायमा बबीलाई दरिलो रुपमा सघाईरहेकी छिन् ।
……….
नेपालगन्जमा अहिले प्लाष्टिक र किचन वेयरका क्षेत्रमा प्रमुख बिक्रेताको सुचिमा पर्छन् बबी । नेशनल कुक वेयर बुटवलबाट उत्कृष्ट बिक्रेताको रुपमा पुरस्कृत भइसकेको ओम सप्लायर्स करिब आधा दर्जन कम्पनीको पश्चिम नेपालका लागि आधिकारिक बिक्रेता हो । युनाइटेड प्लाष्टिक इन्डिष्ट्रिज, प्रदिप पोलेथिन इन्डिष्ट्रिज, नेशनल कुक वेयर, होम ग्यालरी, टुलिप, निलम इष्टिल, रुबी इष्टिलको कर्णाली र लुम्बिनी प्रदेशका लागि (दाङ देखि पश्चिमका जिल्ला) ओम सप्लायर्स आधिकारिक बिक्रेता हो । यसले पनि बबी र ओम सप्लायर्सको सफलतालाई प्रष्टयाउँछ ।
हरेक वर्ष व्यवसायमा सफलता हासिल गर्दै गएका बबी अब ट्रेडिङ व्यापारबाट उद्योग तर्फ आर्कर्षित भएका छन् । करिब दुई दशकको व्यवसायिक अनुभवले उनलाई अहिले उद्योग तर्फ आकर्षित गरिरहेको छ । जसको फलस्वरुप उनले खजुरा–३ मा प्लाष्टिकलाई प्रशोधन गरी दाना निर्माण गर्ने उद्योग सुरु गर्ने तयारीमा छन् । भिजन गु्रप अफ इन्डिष्ट्रिज कम्पनीमा ९ जना सहकर्मी मिलेर त्यो उद्योग संचालनमा आउँदैछ । जसको अध्यक्षका रुपमा नेतृत्व गरिरहेका छन बबीले । करिब ५ करोड लगानीमा निमार्ण हुँदै गरेको उक्त उद्योगमा ५० भन्दा बढीले रोजगार पाउनेछन् ।
आफनै देशमा केहि नयाँ काम गर्नु पर्छ भन्ने सोचका स्थापना भएको कम्पनी हो ‘भिजन गु्रप अफ इन्डिष्ट्रिज’ । जसले नयाँ पुस्तालाई आफनै देशमा नविनतम काम गर्ने प्रेरणा मिलोस भन्ने पनि चाहना रहेको बताउँछन् बबी । व्यवसायिक क्षेत्रमा बबीले हासिल गरेको जस्तो सफलता कमैले मात्र पाउने गर्छन् । लगनशील र मिहिनेतसाथ आफनो कामलाई निरन्तरता दिदैं सफलताको उचाईमा पुगेका बबी अहिले व्यवसायीका समस्याहरुका बारेमा बोल्ने प्रयास गरिरहेका छन् ।
व्यवसायिक क्षेत्रमा थुप्रै समस्या छन् । ति समस्या एकै पटक समाधान हुँदैनन् । तर त्यसलाई समाधान गर्न सम्बिन्धत निकाय र व्यवसायिक संस्थाको नेतृत्व गर्नेले वकालत गरिरहनु पर्छ भन्ने धारणा छ बबीको । व्यवसायसँगै बबी समाजसेवामा पनि सक्रिय छन् । विशाल चोक टोल सुधार समितिका अध्यक्ष भएर उनले आफनो समाजका लागि सकारात्मक काममा योगदान गरिरहेका छन् । अन्य थुप्रै सामाजिक कार्यमा पनि बबीको सक्रियता छ । उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएका बबीले आफुले निर्वाचित भएपछि उठान गर्ने विषय प्रमुख विषय खुला सिमानाको समस्या हो । बबी भन्छन,‘खुला सिमाना कारण अवैध बाटो हुँदै भारतबाट नेपाल सामान आइरहेको छ । त्यसलाई नियन्त्रण गर्न नसक्दा यहाँ व्यवसायीहरु समस्यामा परिरहेका छन् । व्यवसायीहरु पनि मर्कामा छन, राज्यलाई कर पनि आइरहेको छैन । यस्ता कुरा म जोडदारका साथ आवाज उठाउँछु ।’