जय बागेश्वरी, सेन्ट थोमस, नेपालगन्ज मोडेल र ड्रिमल्यान्ड क्वाटरफाइनलमा प्रवेश
Thursday, February 1st, 2024, 7:01 pm
Kalpristha
मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल
सौरभ राना
नेपालगन्ज, माघ १८ गते
जय बागेश्वरी स्कुल, सेन्ट थोमस, नेपालगन्ज मोडेल एकेडेमी र ड्रिमल्यान्ड स्कुल नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा भएको खेलमा जय बागेश्वरीले बागेश्वरी एकेडेमी कोहलपुरलाई २–० ले हरायो ।
खेलमा म्यान अफ द म्याच पुरस्कार जित्न सफल जय बागेश्वरीका पुष्कर साउदले ३४औं र ५३औं मिनेटमा गोल गरेका थिए । म्यान अफ द म्याच बनेका पुष्करलाई नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाटले पुरस्कृत गरे ।
बिहिबारको दोस्रो खेलमा सेन्ट थोमसले ग्रीनपिस मावि कोहलपुरलाई २–० ले हरायो । सेन्ट थोमसको जितमा मनिष डाँगीले ४३औं र ४८औं मिनेटमा गरी दुई गोल गरे ।
म्यान अफ द म्याच घोषित भएका डाँगीलाई एन ब्याव्सनका केन्द्रिय सदस्य बामदेव न्यौपाने र युरो बेबी जोन स्कुलका निर्देशक कमल पछाईले पुरस्कृत गरे ।
यसैगरी बिहिबारको तेस्रो खेलमा नेपालगन्ज मोडेल एकेडेमीले मोर्डन पब्लिक स्कुलाई ३–२ ले पराजित गरेको छ । नेपालगन्ज मोडेल एकेडेमीको जितमा बिनोद शाहीले ३० र ६०औं मिनेटमा दुई गोल र रुपेश बोहराले ४५औं मिनेटमा गोल गरेका थिए । यता मोर्डन पब्लिक स्कुलको तर्फबाट विमल ओलीले २९औं मिनेट र विवेक विष्टले ५७औं मिनेट गोल गरेका थिए ।
खेलमा निर्णायक गोल गरेका नेपालगन्ज मोडेल एकेडेमीका बिनोद शाहीले खेलमा म्यान अफ द म्याचको पुरस्कार जिते । उनलाई नेपाल प्रोफेसनल गल्फ एशोसियसनका अध्यक्ष एवम् पुर्व राष्ट्रिय खेलाडी रबिन्द्रमान श्रेष्ठ र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले पुरस्कृत गरे ।
यसैगरी बिहिबारको चौथो खेलमा ड्रिमल्यान्डले लक्ष्मी मावि बर्दहवालाई ३–० ले हरायो । ड्रिमल्यान्डको जितमा विवश न्यौपानेले २२औं र ५३औं मिनेटमा दुइ गोल र अमृत रोकाले ४२औं मिनेटमा गोल गरेका थिए । खेलमा ड्रिमल्यान्डका विवश न्यौपाने म्यान अफ द म्याच घोषित भए । उनलाई महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष एवम् जिल्ला खेलकुद विकास समिति बाँके सदस्य रेवती सिंहले पुरस्कृत गरिन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार तिन खेल हुनेछन् । शुक्रबारको पहिलो खेलमा राम जानकी मावि र सुर्योदय मावि चिसापानी (बिहान ११ः३० बजे), नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावि खजुरा(दिउँसो १ः०० बजे) र आदर्श मावि र बाल विद्या मन्दिर(दिउँसो २ः३० बजे) हुने प्रतियोगिता संयोजक निर्मल चन्दले बताए ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।

…………..

………….

……….