नेपालगन्जमा तीन योजनाको एक साथ सुभारम्भ
Wednesday, February 7th, 2024, 7:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ माघ
नेपालगन्ज उप-महानगरपालिकाको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म सुर्खेत रोडमा फुटपाथ निर्माण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले डेढ मिटर चौडा फुटपाथ निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ । राज बिल्डर्सले फुटपाथ निर्माण गर्न थालेको इन्जिनियर चन्दन राज दासले बताउनुभयो ।
१ करोड लागतमा बन्न थालेको फुटपाथ चालू आर्थिक बर्षमा सुर्खेत रोडको पश्चिमतर्फ निर्माण गरिने दासले जानकारी दिनुभयो । जेठ मसान्तसम्म फुटपाथ निर्माण सम्पन्न हुनेछ । नेपालगन्ज उप-महानगरपालिकाको वीपी चोकदेखि धम्बोझी चोकसम्म मिडियन रेलिङ कार्य सुरु गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले मिडियन निर्माण कार्यको अनुगमन गर्नुभएको छ ।
नगर सौन्दर्यकरण, हरियाली प्रवर्द्धन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकको बीच भागमा बृक्षारोपण र रेलिङ निर्माण कार्य सुरु गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । ४० लाख लागतमा यसै आर्थिक बर्षभित्र निर्माण कार्य सक्ने गरी नेपाल विल्डर्सले काम थालेको योजना तथा प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहोराले जानकारी दिनुभयो ।
नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर १९ आलानगरमा सडक स्तरोन्नति र नाला निर्माण कार्य सुरु भएको छ । ३१० मिटर लामो र १० मिटर चौडा सडक स्तरोन्नति तथा ७२.५ सेन्टिमिटर चौडा नाला निर्माण कार्यको नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभएको छ ।
आलानगरदेखि फारम टोल जोड्ने उक्त बाटो ग्राभेल र दुईतर्फी नाला आरसीसी ढलान गरिने इन्जिनियर इश्वरी सापकोटाले बताउनुभयो । विशाल निर्माण सेवाले जेठ १५ गतेसम्म ७० लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी काम थालेको छ ।