स्वास्थ्य स्वंय सेवकलाई प्रोत्साहन गर्दै तिन तहका सरकार
Sunday, March 31st, 2024, 7:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ चैत
नेपालको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य स्वंय सेविकालाई पिलरको रुपमा मानिन्छ । समुदायिक स्तरमा टोल–टोलमा गएर उनीहरुले स्वस्थ नागरिक उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका हुन्छन् ।
बालबालिकालाई लगाउने विभिन्न खोप देखि लिएर राज्य अवलम्बन गरेका स्वास्थ्य नितीलाई कार्यान्वयमा उनीहरुले संवाहकको रुपमा काम गरिरहेका हुन्छन् । तर उनीहरुको सेवा सुविधाको बारेमा भने राज्यले कन्जुस्याई गरेको छ ।
यही कुरालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकार र नेपालगन्ज उप–महानगरपालिकाले देशभरमै नमुना काम गरेका छन् । प्रदेश सरकार र नेपालगन्ज उप–महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा योगदान गरेर अवकास हुने महिला स्वास्थ्य स्वंय सेविकालाई जनही ५०–५० हजार रुपैयाँ दिने निर्णय गरेका छन् । जसको आइतबार नेपालगन्जबाट सुरुआत गरिएको छ ।
संघीय सरकारले उनीहरुलाई २० हजार प्रदान गर्ने गरेको छ । अब नेपालगन्ज उप–महानगरपालिका भित्रका महिला स्वास्थ्य स्वंय सेवकले अवकास हुँदा १ लाख २० हजार र लुम्बिनी प्रदेशका अन्य जिल्लाका सेविकाले ७० हजार पाउनेछन् ।
६० वर्ष उमेर पुरा भई सेवाबाट विदाई हुने महिला स्वास्थ्य स्वंय सेवकलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सम्मान गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सरकारले यस वर्ष देखि आफनो सेवाबाट विदाई हुन लागेका स्वास्थ्य स्वंय सेवकलाई जनही ५० हजार दिने निर्णय गरेको छ । हरेक वर्ष सेवाबाट विदा हुने स्वंय सेवकलाई संघीय सरकारले २० हजार दिने गरेको छ । तर लुम्बिनी प्रदेशले भने सातै प्रदेशमध्ये पहिलो पटक स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दैं स्वंय सेवकलाई ५० हजार दिने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये आइतबार नेपालगन्जबाट १३ जनालाई सम्मान तथा रकम हस्तान्त्रण गर्दैै कार्यक्रमको सुरुआत गरिएको छ ।
मन्त्री खनालले गाउँघरमा देखिने महामारी, गर्भवती महिलामा देखिने समस्या, खोप सेवा लगायतका बारेमा समुदायमा गएर जागरण ल्याउने काम स्वास्थ्य स्वंय सेवकले गर्नुभएको बताउँदै उहाँहरुको योगदानलाई राज्यले सम्मान गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो,‘अत्यन्त न्युन सुविधामा उहाँहरुले समाजका लागी योगदान गर्नु भएको छ । हामीले मासिक रुपमा केहि सहयोग गर्न सकिन्छ भनेर छलफल गरेका थियौं । तर हाम्रो मन्त्रालयको बजेटले त्यसलाई नभ्याउने भएपछि सेवाबाट विदा हुनेलाई आर्थिक सहयोग गर्न सकिन्छ भन्ने निर्णयमा पुग्यौं । भविष्यमा आउने मन्त्रीले पनि यो सहयोगलाई निरन्तरता दिने सक्नेछन् । यसबाट स्वंय सेवकहरुलाई पनि प्रदेश सरकारले हाम्रो योगदान र मिहिनेतको सम्मान ग¥यौ भन्ने महशुस होस भनेर यो कार्यक्रमको सुरुआत गरेका हौं ।’
लुम्बिनी प्रदेशमा ९ हजार महिला स्वास्थ्य स्वंय सेवकहरुले जनस्तरमा स्वास्थ्य सेवाका क्षेत्रमा काम गरिरहनु भएको छ । लुम्बिनी प्रदेशमा हरेक वर्ष करिब ४ सय जनाले ६० वर्ष पुगेपछि आफनो सेवाबाट विदा हुने गर्नु भएको छ ।
आइतबार स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको सम्मान तथा विदाई कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले नगरभित्र हरेक वर्ष अवकास प्राप्त गर्ने महिला स्वास्थ्य स्वंय सेवकलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गर्नु भयो ।
जनसमुदाय स्तरमा स्वास्थ्य स्वंय सेविकालाई मानिसहरुले डाक्टरको रुपमा विश्वास गर्ने गरेको बताउँदै मेयर विष्टले स्वास्थ्य स्वंय सेवकको सेवा सुविधा र क्षमताको विकास गर्ने कार्यक्रम निर्माण गर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो,‘उहाँहरुले दिनरात जनताको सेवा गरिरहनु भएको छ । हामीलाई थाहा छ गर्मी, जाडो र वर्षाको समयमा पनि उहाँहरुले आफनो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्नु भएको छ । राज्यले बनाएको स्वास्थ्य निति अनुसार समुदाय स्तरमा गएर काम गर्नु भएको छ । घर–घरमा गएर काम गर्नु भएको छ । उहाँहरुको सेवाका कारण नगरभित्र बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ । त्यसको लागि म उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
नेपालगन्जले हरेक वर्ष स्वास्थ्य स्वंय सेविकाको क्षमता अभिवृद्धी गर्नको लागि १ लाख रुपैयाँ समेट छुटयाउने गरेको उहाँले जानकारी गराउनु भयो । स्वास्थ्य स्वंय सेवकको विदाई तथा सम्मान कार्यक्रम नेपालगन्जबाट सुरुआत गरेकोमा मेयर विष्टले लुम्बिनी प्रदेश सरकारलाई धन्यवाद दिनु भयो ।
आइतबार पहिलो चरणमा बाँकेको नेपालगन्ज र जानकी गाउँपालिकाको गरी १३ जनालाई सम्मान तथा विदाई गरिएको थियो । सेवाबाट विदा हुनेहरुमा नेपालगन्ज उप–महानगरपालिकाबाट नुरजाह हलुवाई, साजदा हलुवाइनी, इन्दीरा कनोजिया, अप्सरुन अन्सारी, बिना पाण्डे, तुलसा थापा, रेश्मा देवी गौतम, लक्ष्मी खत्री, छम्मी बेहना र सानिया बानो शेष रहनु भएको छ । यसैगरी जानकी गाउँपालिकाबाट अमृता सुनार, अमिना पठानी र लक्ष्मी कुमारी चन्द रहनु भएको छ ।
आइतबार भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभासद सुशिला वादी, मिना सिद्धिकी महिला स्वास्थ्य स्वंय सेवकहरुको सेवा सुविधा वृद्धिमा सबै तहका सरकारले वार्षिक रुपमा बजेट बिनियोजन गर्नु पर्ने बताउनु भएको थियो ।

…………
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम बहादुर चन्द लगायतले बोल्नु भएको थियो ।

…………..