नेपाल ए को लज्जास्पद हार
Friday, April 5th, 2024, 2:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २३ चैत
लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ । यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ ।
शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ११४ रनले पराजित गरेको हो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । आयरल्यान्डले दिएको १७५ रन पछ्याएको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्रै बनायो ।
नेपालका भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । आयरल्यान्डका म्याथ्यू हम्फ्रेजले सर्वाधिक ६ विकेट लिए। ४.५ ओभर बलिङ गरेका उनले १ मेडनसहित ८ रन खर्चिए ।
यस्तै,फिओन ह्यान्ड र थोमस मेयसले २÷२ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन बनाए । उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । उनले आठौँ विकेटका लागि लियाम म्याकार्थीसँग ५४ रनको साझेदारी गरे ।
यस्तै, कप्तान नील रकले ३८ बलमा ३ चौकासहित ४४ रन बनाए । लियाम म्यार्क्थी ३५र पिटर मुरले १७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका रिजन ढकाल र शाहब आलमले ३÷३ विकेट लिए । श्याम ढकालले २ विकेट लिँदा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।