जिप्रका बाँके टिम सेमिफाइनलमा प्रवेश
Tuesday, April 9th, 2024, 8:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २७ चैत
जिल्ला प्रहरी कार्यालय बाँके(जिप्रका)को टिम दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार खजुराको धौलागिरीमा भएको प्रतियोगितामा जिप्रकाले टाइब्रेकरमा बागमति युवा क्लबलाई ५–४ ले हरायो । निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
जिप्रकाका लागि अनिल चौधरी र सुदिप शाहीले गोल गर्नु भएको थियो । बागमतिका लागि बिपिन थापामगर र प्रशान्त गिरीले गोल गर्नु भएको थियो ।
यसैगरी मंगलबारको दोस्रो खेलमा जित हासिल गर्दै न्यु डाँफे स्पोर्टस क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । न्यु डाँफे स्पोर्टस क्लबले जय किसानलाई १–० ले हरायो । न्यु डाँफेका लागि हस्त बहादुर गुरुङले गोल गर्नु भएको थियो ।
प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा चन्द्रज्योति युवा क्लब र शान्ति स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा आयोजक हिमालय सामुदायिक क्लब ‘बी’ र न्यु डाँफे स्पोर्टस क्लबबिच खेल हुनेछ ।
दुबै खेलमा जित हासिल गर्ने टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने आयोजक हिमालय सामुदायिक क्लबका अध्यक्ष किरण थापाले बताउनु भयो । हिमालय सामुदायिक क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल चैत ३० गते हुनेछ ।
जनयुद्धका सहिद हुनु भएका डम्बर रानाभाटको स्मृतिमा स्थानीय युवाहरुले प्रतियोगिताको आयोजना गरेका हुन । प्रतियोगितामा बाँके जिल्ला भित्रका १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाण पत्र र दोस्रो हुनेलाई ३० हजार ५सय ५५ मेडल र प्रमाणपत्र पाउनेछन् ।

………….