नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने
Tuesday, August 6th, 2024, 6:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ साउन
इरानविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन(काभा) महिला नेशन्स लिगको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार नेपालले खेल २५–२१, २६–२८, २५–२० ले आफ्नो पक्षमा पर्यो ।
पहिलो सेटमा १–५ ले पछि परेको स्थितीबाट नेपालले लगातार पाँच अंक जोडेको थियो । दोस्रो सेट निकै प्रतिस्पर्धात्म बनेको थियो । एक समय १५–९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१–२४ ले पछि परेको थियो । तर लगातार तीन सेट बचाउँदै नेपाल खेलमा फर्कियो ।
नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । यसैगरी नेपालले लिग चरणमा श्रीलंका र माल्दिभ्सलाई समान ३–० र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
यता भारतसँग ३–१ को सेटमा पराजय ब्यहोरेको इरानले श्रीलंकालाई ३–२ तथा माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ । मंगलबार नै सम्पन्न पहिलो सेमिफाइनलमा भारतले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो । इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ ।