उपचारमा अस्पतालको लापरवाही ठहर, पीडितलाई क्षतिपुर्ति दिलाउने अदालतको फैसला सदर
Wednesday, September 11th, 2024, 7:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ भदौं
उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासद्धारा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले उपचारमा लापरवाही गरेको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार क्षतिपुर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ । फैसलाले न्यायको अनुभुति गरेको मृतक मनितलाल श्रेष्ठको श्रीमती नम्रता श्रेष्ठको बताउनु भएको छ ।
नेपालगंज मेडिकल शिक्षण अस्पतालले एक बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै बाँके जिल्ला अदालतले २६ लाख १० हजार क्षतिपुर्ति दिलाउने गरि गरेको फैसलालाई उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले पनि २०८१ भाद्र २५ गते जिल्लाकै फैसलालाई सदर गरेको गरेको छ ।
उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारु र गोबिन्द जोशीको संयुक्त इजलासले यस्तो निर्णय गरेको पीडितको पक्षमा वकालत गरिरहेका अधिवक्ता बसन्त गौतमले जानकारी दिनु भयो । मुद्धामा पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठका साथै अधिवक्ताहरु बसन्त गौतम, बल बहादुर चन्द, बिश्वजित तिवारी र हिरा बहादुर श्रेष्ठले बहस गर्नु भएको थियो ।
बाँके नेपालगंज २ घरवारीटोलका मनितलाल श्रेष्ठको उपचारमा अस्पताले लापरबाही गरेका कारण बिरामीको मृत्यु भएको जनाउदै मृतकका श्रीमती नम्रता श्रेष्ठले बाँके जिल्ला अदालतमा ०७६ श्रावण ३१ गते क्षतिपुर्ति मुद्धा दायर गर्नु भएको थियो ।
ज्वरो आई अस्पतालको इमरजेन्सी वार्डमा लैजादा बिरामीको उपचारमा हेलचेक्राई गरिएको, ओजिटी गर्न आएका सिकाउ बिद्यार्थीलाई उपचारमा संलग्न गराएको दावी सहित उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ५०,५१ र ५२ अनुसार मृतकका परिवारले अस्पताल र उपचारमा लापरवाही गर्ने भनिएका चिकित्सकका बिरुद्धमा क्षतिपुर्तिको मुद्धा दायर गरेको थियो ।
बाँके जिल्ला अदालतमा दायर क्षतिपुर्ति मुद्धाको ०७९ फागुन ११ गते सुनुवाई हुँदा बाँके जिल्ला अदालतका न्यायाधीश बिदुर काफ्लेको इजलासले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै बिपक्षी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजबाट क्षतिपुर्ति दिलाउने आदेश गरेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ कायान्वयनमा आए पछि बाँकेमा दर्ता भएको पहिलो क्षतिपुर्ति मुद्धामा भएको अदालती निर्णयले उपभोक्ताको गुणस्तरिय सेवा पाउने अधिकारलाई संरक्षण गरेको पीडितको पक्षमा सुरु देखि कानूनी सहयोग गर्दै आएका अधिवक्ता बसन्त गौतमले बताउनु भयो ।
मुद्धा दर्ता भएर अदालती प्रक्रियामा लामो समय लम्बिएर नेपालगंज उच्च अदालतबाट समेत मुद्धाको किनारा लाग्दा मृतकका परिवार अदालतको फैसला पछि खुसी भएका छन् । अदालती फैसला पछिको संक्षिप्त प्रतिक्रिया दिदै मृतक मनितलाल श्रेष्ठकी श्रीमती नम्रता श्रेष्ठले अदालतको फैसलाले न्यायको अनुभुति भएको बताउनु भयो ।