एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : विभिन्न विधामा खेलाडी र प्रशिक्षक सम्मानित
Friday, September 13th, 2024, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २८ भदौ
‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ शुक्रबार विभिन्न विधामा अवार्ड वितरण गर्दै सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले जितेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।
भलिबलकी कवितालाई पिपल्स च्वाइस अवार्ड
भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् । क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई उछिन्दै उनले यो अवार्ड जितेकी हुन् । त्यसैगरी करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिकालाई प्रदान गरिएको हो ।
उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार प्रदान गरेका थिए ।
विनयराज पाण्डेलाई लाइफ टाइम अवार्ड
नेपालमा क्रिकेटको जग हालेका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । जयकुमारनाथ शाहको नेतृत्वमा क्रिकेट संघ स्थापना हुँदा पाण्डे महासचिव थिए ३८ वर्षसम्म महासचिव रहेका उनी उनी २००५ देखि २०११ सम्म अध्यक्ष रहे । पाण्डे क्रिकेट संघको नेतृत्वमा रहँदा नेपाल क्रिकेटको विकासको श्रृखला तयार भएको थियो । उनले नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उनले उल्लेख्य भूमिका खेलेका छन् ।
भलिबलका कुमार राईलाई स्पेशल अवार्ड
यस वर्षको स्पेशल अवार्ड भलिबल प्रशिक्षक कुमार राईले पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा न्यू डाइमण्डका राईलाई यो अवार्ड प्रदान गरिएको हो । स्पेशल अवार्डबाट सम्मानित भएपछि प्रशिक्षक राईले भने, ‘नेपालमा धेरै राम्रा खेलाडीहरु जन्माएर नेपालको शिर अझ उचो राख्नेछु, अझ योगदान गर्नेछु ।’ राईले उत्पादन गरेका थुप्रै महिला भलिबलरहरु अहिले पनि राष्ट्रिय टिममा छन् ।
हेमन्त पाल बने युवा वर्ष खेलाडी
हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका छन् । उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए ।
यो अवार्डका लागि उनीसँगै क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए ।
महिला कबड्डी टिमलाई टिम अफ दि इयर अवार्ड
पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ । शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो । १९औं एसियन्स गेममा पदकका लागि आशा गरिएका खेलाडीहरु असफल भएका बेला महिला कबड्डी टिम काश्य पदक जित्न सफल भएको थियो ।
करातेका कुशल बने उत्कृष्ट प्रशिक्षक
करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा १९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने प्रशिक्षक श्रेष्ठले प्लेयर अफ दि कोचको अवार्ड दिइएको हो । यो अवार्डका लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कबिराज नेगी लामा, भारत्तोलनका प्रशिक्षक संजय महर्जन पनि मनोनयनमा परेका थिए ।
पारा एथलिट अफ दी इयरको अवार्ड पलेशालाई
पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्ट्स अवार्डमा कीर्तिमानी पलेशालाई यो अवार्ड प्रदान गरिएको हो । हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएका हो । पलेशाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कांस्य पदक समेत जितेकी छिन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।