नेपालगन्जमा संचालित मनोपरामर्श तालिम सम्पन्न
Sunday, September 15th, 2024, 3:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० भदौ
देशैभरि संचालनमा रहेका लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्र तथा सम्बद्ध कर्मचारीको क्षमता अभिवृद्धिका लागि आयोजित सात दिवसीय मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ । एफडीडीआर बाँकेको आयोजना र लिभवेल काउन्सिलिङको प्राविधिक संयोजनमा भाद्र २३ देखि २९ गतेसम्म नेपालगन्जमा संचालित उक्त तालिममा बाँके, सुर्खेत, दाङ, धनगढी, झापा, सुनसरी र काठमाडौंमा रहेका पुनर्स्थापना केन्द्रका संचालक र कर्मचारी गरी २५ जना सहभागी थिए ।

….
प्रशिक्षार्थीलाई लिभवेल काउन्सिलिङका प्रमुख भोजराज शर्मा र नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट साइकियाट्रीस्ट डा. अनुप उपाध्यायले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा लागू औषध दुर्व्यसन लगायत विश्व स्वास्थ्य संगठनले तोकेका २० मुख्य मानसिक समस्याबारे प्रशिक्षार्थीलाई जानकारी दिनुका साथै परामर्शका चरणहरू र वैज्ञानिक विधिहरूबारे प्रशिक्षार्थीहरूलाई सीपमूलक ज्ञान दिएको लिभवेल काउन्सिलिङका प्रमुख तथा मनोपरामर्शकर्ता भोजराज शर्माले बताए ।

….
आयोजक संस्था फेडरेसन अफ ड्रग डिमान्ड रिडक्सन बाँकेका संयोजक रमेश काजी महर्जनले गृह मन्त्रालय लागू औषध नियन्त्रण ब्युरोको समन्वयमा मनोचिकित्सक समेतको कक्षाहरु राखेर नेपालगन्जमै पहिलो पटक यस्तो तालिम आयोजना भएको र यसले पुनर्स्थापना केन्द्रका सञ्चालकलाई परामर्शका न्युनतम सीपहरू सिकाएको बताए ।
समापन सत्रमा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थी, एफडिडिआर नेपालका केन्द्रीय अध्यक्ष प्रशान्त शर्मा, नेपालगन्ज उप–महानगर पालिकाका उपप्रमुख कमरुद्दिन राई लगायतले बोलेका थिए । उद्घाटन र प्यानल डिसकसन सहितको समापन सत्रको सञ्चालन एफडिडिआर बाँकेका अभिराज क्षेत्रीले गरेका थिए ।