मतदाताको मन जित्दैं लोकतान्त्रिक समावेशी व्यवसायी प्यानल
Friday, October 4th, 2024, 7:07 pm
Kalpristha
कोहलपुर उद्योग वाणिज्य संघ निर्वाचन
सिवानी विक
कोहलपुर, १८ असोज
कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले तीव्रता दिएको छ । आगामी कात्तिक ३ गते संघको निर्वाचन हुँदैछ ।
अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले कोहलपुर नगरपालिका वडा नम्बर ८ र ९ लगायतका ठाउँमा प्रचारप्रसार अभियान प्रभावकारी भएको बताउनु भएको छ ।
भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै स्थानीय व्यवसायीहरूमा उत्साह देखिएको बताउनु भएको छ ।
उहाँले संघको नेतृत्वमा पुगेर व्यवसायीहरूको समस्या समाधान गर्ने, संघलाई थप सशक्त बनाउने र कोहलपुरको व्यापारिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको छ ।
उहाँले भन्नु भयो, ‘मैले कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । मेरो उद्देश्य संघलाई व्यवसायीमैत्री बनाउनु हो । व्यवसायीहरूका समस्यालाई नजिकबाट नियालेको छु । ती समस्या समाधान गर्नको लागि विभिन्न योजनाहरू छन् हामीसँग । हामीलाई विश्वास छ कि हाम्रो नेतृत्वमा संघले नयाँ उचाइ प्राप्त गर्नेछ ।’
भट्टराईले प्रचारप्रसार अभियानलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिएको बताउनु भयो ।
उहाँले स्थानीय व्यवसायीहरूसँग भेटघाट गर्ने, अन्तरक्रिया गर्ने र आफ्ना योजनाहरूबारे जानकारी गराउने गरेको बताउनु भयो । यसैगरी सामाजिक सञ्जाललगायतका विभिन्न माध्यमबाट पनि आफ्नो प्रचारप्रसार गरिरहेका छन् ।
यसैगरी भट्टराईको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।

………
लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा सूचीमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, राजेन्द्र प्रसाद रिजालले एशोसियट सदस्यका रुपमा चुनावमा उम्मेदवारी दिनु भएको छ । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा रहनु भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा कसले जित्ने हो भन्ने चासो सबैतिर छ ।

……..

………..