नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु
Friday, October 4th, 2024, 8:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असोज
नेपालगन्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७औँ संस्करण बिहीबारदेखि सुरु भएको छ ।
यहाँस्थित रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख विष्टले रामलीला मञ्चन नेपालगन्ज सहरको सांस्कृतिक पहिचान भएको बताउनुभयो ।
प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । नेपालगन्जको सांस्कृतिक परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार आएका छन् । नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको संख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।
एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ ।
नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँका संख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । विसं १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको समितिका सदस्य नन्दलाल बैश्यले बताउनुभयो ।