बाँकेका ग्रामीण बस्तीमा कालोपत्र सडक
Tuesday, October 22nd, 2024, 7:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ कात्तिक
बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् ।
जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण क्षेत्र र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिक टोललगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र भएपछि आवागमन सहज भएको हो । सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा पक्की सडक निर्माण भएको हो ।
गाउँपालिकाका ग्रामीण बस्ती कालोपत्र सडकका कारण नेपालगन्ज बजारसँग प्रत्यक्ष जोडिदा स्थानीयले लाभ लिइरहेका जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले जानकारी दिनुभयो । “सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले आवतजावत गर्न सजिलो भएको छ” उहाँले भन्नुभयो ।” वडासदस्य थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवद्र्धन भएको उल्लेख गर्दै अहिले कालोपत्र भएपछि नेपालगञ्ज पुग्न लामो समय नलाग्ने बताउनुभयो ।
सडकको सञ्जाल जताततै भएकाले जानकी वा खजुरा जहाँबाट पनि नेपालगन्ज आउन सहज भएको जानकारी दिँदै वडासदस्य थापाले अन्य ग्रामीण भेगका सडक पनि कालोपत्र गर्न आवश्यक भएको बताउनुभयो । बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर र शिवपुरीदेखि नेपालगन्ज १० किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।
खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा सबै भन्दाबढी पक्की सडक निर्माण भएको जानकारी दिँदै ती सबै क्षेत्रमा करिब ५७ किलोमिटर सडक निर्माण भएको बताउनुभयो । हाल क्रमागत योजनाका सडक निर्माण भइरहेको उल्लेख गर्दै उहाँले गौघाट—परस्पुर सडक भने अधुरै रहेको गर्नुभयो ।