बबई नदिमा मृत भेटिएका पदमको मृत्यु शंकास्पद, घटनाको अनुसन्धान गर्न आफन्तको माग
Tuesday, November 5th, 2024, 5:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, कात्तिक २० गते
बर्दिया–सुर्खेतको सिमानामा पर्ने बबई नदिमा मृत अवस्थामा भेटिएका पदम बस्नेतको मृत्यु शंकास्पद देखिएको आफन्तले बताएका छन् । गत कात्तिक १७ गते स्थानीय प्रहरीले बबई नदिमा करिब ३० वर्षिय पदमको शव फेला पारेको थियो ।
खजुरा गाउँपालिका वडा नम्बर २ निवासी पदमको ससुराली बर्दिया–सुर्खेत सिमानामा पर्ने बबईमा रहेको छ । नदिमा शव फेला परेपछि प्रहरी प्रहरीले घरमा खबर गरेका थिए ।
बाँसगढी नगरपालिका १ नम्बर वडा अध्यक्ष जयराज पाण्डेले घटनाको बारेमा आफुलाई जानकारी गराएको खजुरा गाउँपालिका वडा नम्बर २ अध्यक्ष धनराम वलीले बताउनु भयो । आफन्तहरु शव बुझन जाँदा अनुहारमा रगतको डाम देखेपछि आफन्तले शव बुझन अस्वीकार गरेका थिए । पदमको दाई पर्ने दिल बहादुर बस्नेतका अनुसार प्रहरीले घटनाको बारेमा राम्ररी अनुसन्धान नगरेर शव बुझन मात्र दबाब दिएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘पदमको शव हेर्दा मृत्यु भन्दा कसैले मारेको जस्तो देखिन्छ । घटनाको बारेमा स्थानीयले पनि विभिन्न शंकास्पद कुराहरु गरिरहेका छन् । त्यसले हामीलाई शंका लागेर घटनाको यर्थात अनुसन्धान होस भन्ने हाम्रो माग हो ।’
कसैले मारेर फालेको हुन सक्ने आफुहरुको आंशका रहेको दिल बहादुरले बताउनु भयो । आफन्तहरु जादा प्रहरीले शव बाहिर निकालेर राखेको थियो । पदम केहि समय अघि भारतबाट कमाएर फर्किएका थिए । तीन वर्ष अघि पनि पदमलाई मार्ने प्रयास गरिएको आफन्तले बताएका छन् । मृतक पदमको शव अहिले छिन्चु अस्पतालमा राखिएको छ ।