खाद्यले किन्यो साढे चार हजार क्विन्टल किसानको धान
Thursday, November 14th, 2024, 3:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ कात्तिक
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग धमाधम धान खरिद गरिरहेको छ । गत २० गते मङ्गलवारबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले २८ गते बुधवारसम्म साढे चार हजार क्विन्टलभन्दा बढी धान खरिद गरिसकेको छ ।
गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको छ । बुधवारसम्म चार हजार ६४७ दशमलव १४ क्विन्टल धान खरिद गरिसकेको जनाएको छ । “हामीले यस वर्ष लक्ष्य लिएको ४० हजार क्विन्टल धान खरिद गर्ने हो, २० गतेबाट सुरु गरिएको धान खरिद बुधवारसम्ममा चार हजार ६४७ दशमलव १४ क्विन्टल धान खरिद गरिसकेका छौँ ।”
कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले भन्नुभयो, “कम्पनीको गोदाम नजिक चार वटा काँटा लगाएर किसानले ल्याएका धान धमाधम खरिद गरिरहेका छौँ ।” “बुधवारसम्म धान बिक्री गर्नका लागि ३४५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गरिसक्नुभएको छ, अहिलेसम्म सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाका किसानहरू आउनुभएको छ, त्यसपछि जानकी, नेपालगन्ज, बैजनाथ र डुडुवाबाट पनि किसान आउनुभएको छ ।” सूचना अधिकारी घिमिरेले भन्नुभयो, “स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।”
धान खरिद गर्नुअघि किसानहरूले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “पहिला पहिला किसानहरू १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउन पूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरू आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ ।” उहाँले भन्नुभयो ।
धान तौल गर्नका लागि चार वटा काँटामा ४० जनाभन्दा बढी मजदुर परिचालन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मजदुरलाई जिल्लास्थित प्राथमिक खरिद समितिले निर्धारण गरेको प्रति क्विन्टल तौल गरेबापत ४० रुपियाँ रकम प्रदान गरिँदै आइएको छ । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले यस वर्ष भने मात्रा घटाएर ४० हजार क्विन्टल मात्र खरिद गर्ने लक्ष्य लिएको छ । “गत वर्ष हामीले ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, लक्ष्य भन्दा निकै कम जम्मा आठ हजार क्विन्टल मात्र खरिद गर्न सक्यौँ ।”
मुख्य शाखा प्रमुख रामशरण लामिछानेले भन्नुभयो, “गत वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बजारमा किसानहरूले बढी मूल्य पाए र बजारका गल्ला व्यापारी र मिलहरूमा लगेर बिक्री गरे, हामीले न्यून मात्रामा खरिद गर्न सक्यौँ ।” गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि १५ दिन अगाडिबाटै सुरु गरिएको हुँदा लक्ष्य पुरा गर्न सकिने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
“गत वर्षभन्दा यस वर्ष सरकारले पनि न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिन अगाडिबाट सुरु गरेका छौँ, त्यस कारण यो वर्ष लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका छौँ ।” लामिछानेले भन्नुभयो, “गत वर्ष मङ्सिर ६ गतेबाट धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कात्तिक २० गतेदेखि नै सुरु गरेका छौँ ।” ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले बुधवारसम्म ५५२.६१ क्विन्टल मोटा र ४०९४.५३ क्विन्टल गरी ४६४७.१४ क्विन्टल धान खरिद गरेको हो ।