आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना
Thursday, November 21st, 2024, 4:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ मंसिर
नेपालगन्ज उप–महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्स प्रालिलाई जरिवाना गरेको छ । उक्त प्रालिलाई नेपालगन्ज उप–महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १७ परस्पुर र ढोडेगाउँ बीचमा रहेको दोदरा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फाल्ने ग.१ ख. ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारवाहीका लागि नेपालगन्ज उप–महानगरपालिकामा पठाएको थियो । अभिनब बर्माले सामाजिक संजाल ’फेसबुक’ मा सामग्री पोष्ट गरेर जानकारी गराए पश्चात नगर प्रहरीको पहलमा ट्राफिक प्रहरीले गाडी समातेको हो ।
नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज उप–महानगरपालिकाले जथाभावी फोहोमैला फाल्ने विरुद्ध शून्य सहनशिलताको नीति लिएको बताउँदै लुकीछिपी फोहोर फालेको देखेमा जानकारी गराउन आग्रह गरेका छन् । विष्टले नगर सफा राख्नु सबै नगरबासीको साझा दायित्व भएको भन्दै फोहोरमैलाको उचित व्यवस्थापनका लागि सबै गम्भीर बन्नुपर्ने बताए ।