वेस्टर्न अस्पतालद्वारा क्रिटिकल केयर नर्सिङ कोर्स सम्पन्न
Friday, January 3rd, 2025, 7:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज १९ पुस
वेस्टर्न हस्पिटल नेपालन्जले क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा संचालन गरेको विस्तृत क्रिटिकल केयर कोर्स तालिम शुक्रबार सम्पन्न गरेको छ ।
पाँच हप्ताको यो कोर्स नर्सहरूको क्रिटिकल केयर सम्बन्धी सीप र विशेषज्ञता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो । समापन समारोह नेपालगन्जको नेपाल मेडिकल एसोसिएसन हलमा आयोजना गरिएको थियो । सो अवसरमा पहिलो ब्याचका नर्सहरूको उपलब्धिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा निर्देशक, वेस्टर्न हस्पिटलकी डा.कल्पना थापा, हस्पिटल निर्देशक डा.रेशम बहादुर राणा, नेपालगंज मेडिकल कलेज कोहलपुर, डा.किरण गुरुङ, डा. दिपेश गुप्ता, डा.पारस पाण्डे, डा.सुबोध गौतम, डा.सलमान निजाम, डा.अलिश श्रेष्ठ, आशा पन्त (भेरी अस्पताल) लगायतको उपस्थिती रहेको थियो ।
सहभागीहरूले जटिल क्रिटिकल केयर केसहरूको व्यवस्थापन, अत्याधुनिक उपकरणहरूको प्रयोग र प्रमाण–आधारित अभ्यासबाट बिरामीको स्वास्थ्य सुधार गर्ने विशेषज्ञता प्राप्त गर्नेछन् ।
समारोहमा सम्बोधन गर्दै, डा.थापाले कार्यक्रमको महत्वमाथि जोड दिँदै भन्नुभयो ‘यो कोर्स हाम्रो क्षेत्रको क्रिटिकल केयर सेवालाई सुदृढ बनाउने दिशामा एक महत्वपूर्ण कोसेढुंगा हो । यसले नर्सहरूलाई उन्नत सीप र आत्मविश्वास प्रदान गर्दै स्वास्थ्य सेवामा उत्कृष्टता कायम गर्न मद्दत पुर्याएको छ, जसले असंख्य जीवन बचाउने छ ।’
समारोहमा सहभागीहरूको अनुभव र धारणा प्रस्तुति, सहभागीहरूलाई सम्मानपत्र वितरण, डा.पारस पाण्डे (आईसीयू इन्टेन्सिभिस्ट) र प्रशिक्षक कावेरी थापाको मन्तव्य पनि समावेश गरिएको थियो ।
समारोहमा वेस्टर्न अस्पतालकी नर्सिङ निर्देशक सन्दीपा शाक्यले स्वागत मन्तव्य दिनुभएको थियो भने सहभागीहरू र उत्कृष्ट स्थान हासिल गर्नेहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।