लुम्बिनी प्रदेशको सहयोगमा मिलन चोक–राँझा जोडिने सडक कालोपत्रे गरिदैं
Thursday, January 30th, 2025, 11:01 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ माघ
लुम्बिनी प्रदेश सरकारको लगानीमा डुडुवाका जनतालाई प्रत्यक्ष प्रभाव पार्ने मिलनचोक–राँझा सडक खण्डको कालोपत्रे गर्ने कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा सुरु भएको योजना यसै सातादेखि सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारको दर्जनबढी योजनाहरु बाँकेमा रहेता पनि तीमध्ये एक थप योजनाको कार्यान्वयन प्रक्रिया सुरु भएको छ ।
यसअघि जिल्लाका थुप्रै ठाउँहरुमा पनि कृषि सडक निर्माण लगायतका योजनाहरु संचालनमा रहेका छन् । भएका योजनाहरुमध्ये बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ मा सडक निर्माण कार्यको सुरुवात गरिएको छ ।
प्रदेश सरकारको ५० लाख लागतमा निर्माण हुने सडकको लुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री रत्न बहादुर खत्रीले सो सडकको सिलान्यास गर्नुभएको थियो । टिका निर्माण सेवाले २०८२ सालको चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्र्ने गरी सम्झौता गरेको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित मिलन चोकदेखि बाईपास राँझा जोडिने सडक नालीसहितको कालोपत्रो निर्माण हुनेछ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत यो योजना संचालन भएको हो । ५० लाखको लगानीमा २ सय ७० मिटर बाटो निर्माण हुने इष्टिमेट तय भएको छ । सडक निर्माणका लागि क्रमागत रूपमा बजेट ल्याउने मन्त्री खत्रीले बताउनुभयो ।
निवर्तमान मन्त्री खत्रीले अगामी आर्थिक वर्षमा १ करोड बजेट विनयोजन गर्न लगाउने प्रतिबद्धता जनाउनुभएको छ । ‘हुन त यतिले पुरौ भ्याइन्न, अहिलेलाई निर्माण सुरु गरौं,’ मन्त्री खत्रीले भन्नुभयो, ‘अर्को वर्षमा यसका लागि थप बजेट बिनियोजन गर्न लगाउँछु ।’
‘राँझासम्मको यो सडक लामो समयदेखि निर्माण नभएकाले यो पक्की हुन आवश्यक थियो ।,’ मन्त्री खत्रीले भन्नुभयो । यो सडक स्तरउन्नती भएपछि डुडुवाको कम्दी लगायत तथा राप्ती सोनारी र नरैनापुरका मानिसलाई राँझा बिमानस्थलसम्म जोडिन सहज बनाउने मन्त्री खत्रीको बिश्वास छ ।

……….
सडक निर्माणका लागि स्थानीयले पटक पटक आवाज उठाउँदै आएका थिए । लामो समयको अन्तराल पश्चात केही दुरी भएपनि निर्माण सुरु भएकोमा स्थानीय खुशी भएका छन् । स्थानीय युवा सूर्यलाल यादवले लामो समयपछि स्तरउन्नतीको कार्य शुरु भएकोमा खुशी व्यक्त गर्नुभयो ।
‘यो बाटो निर्माण हुनुपर्छ भनेर धेरै पटक धेरै ठाउँमा कुरा उठाएका थियौं,’ यादवले भन्नुभयो, ‘थोरै भएपनि निर्माण सुरु भएको छ, अब बिस्तारै राम्रो हुनेछ ।’ कच्ची सडक हुँदा बाटो छेउँ भएका घर परिवारलाई धुलोको समस्या रहेको स्थानीय यादवले बताउनुभयो । ‘यसका साथै कम्दी, बालापुर, मिलन चोक, छग्रहवा सिधनिया गाउँबाट उत्पादित बस्तुहरु राँझा क्षेत्रसम्म पु¥याउन थोरै भएपनि कच्ची बाटोले समस्या थियो, अब केही सहज पक्कै हुनेछ ।,’ यादवले भन्नुभयो ।
धेरे अगाडी यो बाटो निर्माण हुनुपर्ने भएपनि बल्ल सुरु भएकोमा खुशी भएको स्थानीय बेलबहादुर बोहराले प्रतिक्रिया दिनुभयो । धेरै नेताहरुलाई भन्यो, एक दुई पटक बाटो बन्ने भयो भन्ने पनि भयो, बोहराले भन्नुभयो, पछि कार्यान्वयन नै भएन, यो बाटोलाई राँझासम्म नै पक्की बनाउनुपर्छ । यही बाटो छेउँमा रहेको नानापुर पार्क सर्वसाधारणको पिकनिकको आकर्षण रहेको हुँदा यो सडकको स्तरउन्नतीले यहाँको विकासमा थप मद्दत पु¥याउने बोहराको भनाई छ ।
सडक निर्माणका लागि लुम्बिनी प्रदेश सभा सदस्य सायरा बानो, डुडुवा वडा नम्बर ५ का वडा अध्यक्ष झंक बहादुर थापा, नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य शकील खान, डुडुवा गाउँपालिका कमिटीका सचिव महेश कुमार चौधरीको पहल रहेको थियो । समग्र डुडुवाको आर्थिक विकासमा मिलन चोकदेखि बाईपास राँझा जोडिने सडकको कालोपत्रे गर्ने योजनाले सहयोग गर्ने वडा अध्यक्ष झंक बहादुर थापाको भनाई छ ।