पशुपालनबाट आम्दानीको स्रोत बढाउँदै बर्मा परिवार
Thursday, February 6th, 2025, 4:51 pm
Kalpristha
भिष्म लोध
नेपालगन्ज, २४ माघ
बाँकेको जानकी गाउँपालिकाको साहुपुरकी सरिता बर्माले गाई भैंसी पालन गरेर दैनिक १ सय ३५ लिटर दुध बिक्री गर्नुहुन्छ । बिहानैदेखि गाईभैंसीको पालन पोषणमा खटिने बर्मा परिवारले व्यवसायिक गाईभैंसी पालनबाट मनग्य आम्दानी गर्न सफल भएको छ ।
साहुपुर आफ्नो घरको आँगनमै व्यवसायीक रुपमा गाई भैंसी पाल्न सुरु गर्नुभएकी सरिताले अन्य महिलाका लागि प्रेरणाको श्रोतसमेत बन्नुभएको छ । ‘साँझ बिहानको कर्म गरेर हामीले दैनिक १ सय ३० देखि ३५ लिटरसम्म दुध संकलन हुन्छ,’ सरिताले भन्नुभयो, ‘कर्म गरेपछि फल अवश्य पाईन्छ नै, हामीले कर्म गरिरहेका छौं र फल पनि मिलिरहेको छ ।’
१ वटा बाछी पालनबाट सुरु भएको उहाँको कृषि कर्मले मासिक लाखौ कमाई गर्ने अवस्था बनेको छ । बर्मा परिवारले गाई भैंसी पालनबाट मासिक करिब दुई लाख आम्दानी गर्न सफल भएको छ । ‘सुर्या गाई भैंसी पालन’ जानकी वडा नम्बर ३ का नामबाट व्यवसायीक रुपमा कृषि कर्म गर्दै आएको बर्मा परिवारलाई लुम्बिनी प्रदेश सरकारले अनुदान दिएपछि थप थप सहयोग पुगेको छ ।
लुम्बिनी प्रदेश सरकारमार्फत बर्मा परिवारले कृषि कर्म गर्न आवश्यक ‘चाप कटर’ मेसिन सहयोग प्राप्त गरेको छ भने गोठ निर्माणका लागि अनुदान रकम प्राप्त गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा करिव दुई लाख २ हजार बराबरको चाप कटर मेसिन प्राप्त भएको र चालुक आर्थिक वर्ष २०८१÷०८२ मा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा एक लाख अनुदान प्राप्त भएको फर्मकी संचालक बर्माले जानकारी दिनुभयो ।
‘धेरै त हैन, तर थोरै भएपनि सहयोग भएको छ । यसले हामीलाई केही सहज भने बनाएको छ ।,’ संचालक सरिताले भन्नुभयो, ‘अरुले सहयोग गर्छ भनेर मात्रै हामी कृषि कर्म गरेका हैनौ, कसैले नगर्दा पनि हाम्रो कर्म निरन्तर यसैगरी जारी रहन्छ ।’ १५ वर्षदेखि बर्मा परिवारले गाई भैंसी पाल्दै आएको छ । यो फर्म दर्ता भएको ९ वर्ष भैसकेको छ । सुरुमा पालेको गाईले दैनिक २३ लिटर दुध दिन्थ्यो, हालै त्यो गाईको मृत्यु भएको सरिताका श्रीमान सुरेन्द्र बर्माले बताउनुभयो ।

………….
‘पुर्खाले गर्दै आएको कर्मलाई हामीले पनि गरिरहेका छौं,’ श्रीमान सुरेन्द्रले भन्नुभयो, ‘परिवार यसै कर्ममा लागेका छौं, यो कर्मपनि राम्रै छ ।’ बर्मा परिवारले अहिले एक दर्जन बढी गाई बस्तुको पालन पोषण गर्दै आएको छ । सरिताका श्रीमान सुरेन्द्रका अनुसार उन्नत जातका गाई भैंसी पालिएको छ । एच एफ, जर्सी, गिरे, फिजिसियन जर्सी जातका ९ वटा गाई, मुर्रा जातका २ वटा भैंसी, २ वटा पाँडी, २ वटा बाछा, जर्सी जातको १ वटा साडें, २ वटा बाछा र शिरोही जातको ५ वटा बाख्रा फर्मले पालेको छ ।
पालिएका मध्ये ८ वटा गाईले दुध दिने गरेका छन् । ‘साँझ बिहान गरेर १३५ लिटर दुध संकलन हुन्छ ।,’ सरिताका श्रीमान सुरेन्द्रले भन्नुभयो, ‘कहिले काँही १५० लिटर पनि दुध संकलन हुन्छ । नजिकै रहेको दुध डेरीमा बिक्री गर्ने गरेका छौं ।’ दुधको फ्याट अनुसार डेरीले कहिले ६४÷६५ रुपैया प्रति लिटरको दिने गरेको सुरेन्द्रले बताउनुभयो ।
बिहान ४ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गाईवस्तुको हेरचाहमै बर्मा परिवारको समय बित्ने गर्छ । यो समय गाई वस्तुको मल सोर्ने, चारा हाल्ने र दुध दुहने हुने गर्छ । बाँकी दिउँसोको समयमा खेतीपातीमा बिताउने गर्नुहुन्छ । बर्मा परिवारले ३ बिगाहा पक्का जग्गामा खेतीपातीसमेत गरेको छ । यस्तै घरकै अगाडीको जग्गामा करेसाबारी पनि गरेको छ । १ छोरा र ३ छोरी रहेको बर्मा दम्पत्तीले घरको सामान्य कामसँगै छोरा÷छोरीलाई विद्यालय पढाई रहेका छन् ।
व्यवसायिक कृषि कर्मसँगै बर्मा परिवारले एक जनालाई रोजगारीसमेत दिएको छ । ‘कृषि कर्मबाट बर्मा परिवार सन्तुष्ट छ । गर्ने मानिसलाई कसैको अगाडी हात जोड्न पर्दैन ।,’ सुरेन्द्रले भन्नुभयो, ‘यही नै हाम्रो व्यवासाय हो भनेर लागेका छौं, एक जना मजदुर पनि राखेका छौं । राम्रै आम्दानी भएको छ । व्यवसायिक रुपमा कुनै कुरा सुरु गरेपछि मजदुरको मात्रै भर पर्न हुन्न ।’ सुरु गरेको कार्यमा मालिक आफै लागेपछि त्यसको दिगोपनाको वातावरण तयार हुने सुरेन्द्रले बताउनुभयो ।
बर्मा परिवारले केही समयमा यो व्यवसायिक कार्यलाई बढाउने तयारी गरेको छ । हाल करिव १६ लाखभन्दा बढीको गाई भैंसी रहेको फर्ममा ५० लाख लगानी रहेको छ । ४० वटा गाई पु¥याउने लक्ष्यसहित यसमा एक करोड लगानी लगाउने बर्मा परिवारको तयारी छ । यसका साथै नेपालका किसानहरुको आयस्तर बृद्धि गर्न र यहाँको आर्थिक स्तर बृद्धिका लागि सरकारले ध्यान दिनुपर्ने सुरेन्द्रले बताउनुभयो ।
‘यी सबै गर्नको लागि उन्नत जातको गाई–भैसी पाल्नुपर्छ, त्यो यहाँ पाइदैन, सबै भारतमै पाइन्छन्, तर भारतले गाई वस्तुमा रोक लगाएको छ,’ बर्माले भन्नुभयो, ‘यो अवस्थामा नेपाल सरकारले गाईवस्तुको भन्सार गरेर ल्याउने वातावरण बनाउनुपर्छ । अनि मात्रै यहाँका किसानले चाहेको जस्तो कृषि कर्म गर्न सहज हुन्छ ।’
यस्तै सरकारले कृषि कर्म गर्नेहरुको उपलब्धीको जाँच गरिसकेपछि मात्र वास्तविक किसानलाई अनुदान सहयोग प्रदान गर्नुपर्ने बर्मा परिवारको सुझाव छ ।