नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावि मेयर कपको फाइनलमा प्रवेश
Thursday, February 13th, 2025, 7:20 pm
Kalpristha
नेपालगन्ज, फागुन १ गते
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र आदर्श मावि नेपालगन्ज मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बिहिबार नेपालगन्ज रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले डिफेन्डिङ च्याम्पियन नेपालगन्ज मोडेल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
अर्को खेलमा आदर्श मावि नेपालगन्जले युनाइटेड एजुकेशनल एकेडेमीलाई सडनडेथमा हराउँदैं फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा नेपालगन्ज सेन्ट जेभियर्सका रिशा थारु, ऋृष्टि थारु, रमिता बडुवाल र विपना शाहीले गोल गर्नु भयो ।

……….
नेपालगन्ज मोडेल एकेडेमीको लागि सविता चौधरी, संगम यादव र सन्ध्या धामीले गोल गर्नु भएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गदै टोलीलाई फाइनलमा प्रवेश गराउन सफल नेपालगन्ज सेन्ट जेभियर्सको गोलकिपर सम्झना शाही प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । सम्झनालाई नेपाल गल्फ एशोशियसनका अध्यक्ष, अखिल नेपाल फुटबल संघका पुर्व सदस्य एवम् पुर्व राष्ट्रिय खेलाडी रबिन्द्र मान श्रेष्ठले पुरस्कृत गर्नु भयो ।

…….
यसैगरी अर्को खेलमा निर्धारित समय १–१ को बराबरीमा सकिएपछि आदर्श मावि नेपालगन्जले युनाइटेड एजुकेशनल एकेडेमीलाई ३–२ ले हराउँदैं फाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा युनाइटेडको तर्फबाट प्रकृति सुनारले २२औं मिनेट गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर आदर्शकी रोशनी ददेलले २७औं मिनेटमा गोल गर्दै खेल १–१ बराबरीमा पु¥याउनु भएको थियो । पेनाल्टी सुटआउटमा रोशनी ददेल, रेश्मा ददेल र शिवानी वलीले गोल गर्नु भयो । युनाइटेडको तर्फबाट स्मृति सुनार र श्रेया बज्राचार्यले गोल गर्नु भएको थियो । खेलमा आदर्शकी ग्रेस्ना चिलवाल प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई बाँके जिल्ला फुटबल संघका सदस्य एवम पुर्व खेलाडी गोविन्द्र प्रसाद श्रेष्ठ, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत सन्तोेष खड्काले पुरस्कृत गर्नु भयो ।
यसैगरी विवादस्पद बनेको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा मोर्डन पब्लिक स्कुलले होप इन्टरनेशनल स्कुलाई २–१ ले हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मोर्डनको तर्फबाट प्रकाश बुढाथोकीले ४७औं मिनेटमा र सुशान्त थापाले ६४औं मिनेटमा गोल गर्नु भएको थियो । होप इन्टरनेशनलको तर्फबाट सुदिप जिएमले १७औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा मोर्डनका प्रकाश बुढाथोकी प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् प्रतियोगिताको अनुशासन उप–समिति संयोजक अनिल केसी र जय किसान स्पोर्टस क्लबका महासचिव दिपु रानाले पुरस्कृत गर्नु भयो ।
मोर्डन र होप बिचको खेल सकिएपछि भने दुबै टिमले नियम विपरित खेलाडी खेलाएको भन्दैं एक अर्का विरुद्ध प्रोटेस्ट दिएका छन् । खेल सकिएको २४ घण्टाभित्र दुबै टिमले नियमविपरित खेलाडी खेलाएको भन्ने बारेमा अनुसन्धान भैसकेपछि निर्णय गरिने आयोजक बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष एवम प्रतियोगिताको अनुशासन उप–समिति संयोजक अनिल केसीले बताउनु भयो ।
यसैगरी बुधबार छात्र तर्फ धम्बोझी मावि र युनाइटेड एजुकेशनल एकेडेमी बिचको खेलमा युनाइटेडलाई प्रोटेस्ट लागेपछि प्रतियोगिता खेल्नबाट रोक लगाइएको अनुशासन उप–समिति संयोजक केसीले बताउनु भयो । युनाइटेडको स्थानमा धम्बोझी मावि छात्र तर्फको सेमिफाइनलमा प्रवेश गरेको केसीले जानकारी गराउनु भएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो सेमिफाइनलमा धम्बोझी मावि नेपालगन्ज र ग्रीनपीस मावि कोहलपुरले प्रतिस्पर्धा गर्नेछन् । अर्को सेमिफाइनल खेलको बारेमा छानविन भैसकेपछि निर्णय गरिने अनुशासन समिति संयोजक केसीले बताउनु भएको छ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ ।