रौतहटलाई हराउँदै एपिएफ लुम्बिनी कपको फाइनलमा
Wednesday, April 23rd, 2025, 8:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० वैशाख
विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बाँकेको नेपालगन्ज रंगशालामा भएको दोस्रो सेमिफाइनलमा एपिएफले रौतहटलाई ३–० ले हरायो । पहिलो हाफ बराबरीमा रोकिएको एपिएफलाई जिताउन अनिता केसी, निशा थोकर र सविता रानामगरले समान एक गोल गर्नु भयो ।
एपिएफकी अनिता केसी खेलको प्लेयर अफ दि म्याच घोषित हुनु भयो । उहाँले नगद पाँच हजार प्राप्त गर्नु भयो । अनितालाई बाँके जिल्ला खेलकुद विकास समिति बाँकेका निवर्तमान अध्यक्ष सन्दिप जंग शाह र सशस्त्र प्रहरी जवान शिक्षालय नौवस्ता बाँकेका वरिष्ठ उपरिक्षिक गंगाराम श्रेष्ठले पुरस्कृत गर्नु भयो ।
जित पछि एपिएफ क्लबकी प्रशिक्षक भगवती थापाले रौतटह टोलीलाई हराउन सहज नभएको बताउनु भयो । उहाँले भन्नु भयो,‘रौतटह समन्वय मिलेको टोली हो । उनीहरुले लामो समय देखि एकै टिम खेलिरहेका छन् । जुनियर स्तरका राष्ट्रिय टोलीबाट पनि खेलेका खेलाडी छन् । आज उनीहरुले राम्रो खेलेको हुन् ।’
नेपाली राष्ट्रिय टोलीको लागि ब्याकिङ पावरको रुपमा रौतहट टिमलाई लिन सकिने प्रशिक्षक थापाले बताउनु भयो । उहाँले भन्नु भयो,‘ विभागी टिम पछि नेपालमा बलियो टोली भनेको रौतहटकै हो । रौतहटले राष्ट्रिय टोलीलाई पनि नयाँ खेलाडी दिन सक्छ जस्तो लाग्छ ।’ फाइनल खेल विभागीय टोलीबिचको प्रतिस्पर्धा हुने भएकोले त्यसलाई सहज रुपमा नलिएको एपिएफकी प्रशिक्षक अनिता बस्नेतले बताउनु भयो ।

………..

………..
यसैगरी रौतहटका प्रशिक्षक भोजराज घिमिरेले टोलीले एपिएफसँग उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘हामीले एपिएफसँग जुन रणनितिका साथ खेलेको थियौं, त्यसको नजिक पनि पुग्ने प्रयास गरेको हो । तर अन्त्यतिर त्यो असफल भयो ।’ रौतहटकी सहकप्तान सबिना चौधरीले पनि एपिएफ विरुद्धको खेलमा टिमले राम्रो नतिजा निकाल्ने प्रयास गरेको बताउनु भयो ।
अब उपाधिको लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल वैशाख १२ गते हुनेछ ।
मंगलबार भएको खेलमा पुलिसले अर्के विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।
एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको हो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो ।
राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले महिला लिगको उपाधि पनि जितेको थियो । तर, रौतहटविरुद्ध टोलीले गोलको लागि निकै संघर्ष गर्नुप¥यो । गोलकिपर उषा थापासँगै युवा खेलाडीहरु सेनु परियार, सिमरन राई, सविता चौधरी, जेनिफर राना, पियाली राओले सानदार प्रदर्शन गरेपछि एपिएफ निकै दबाबमा परेको थियो ।

……….
७३औं मिनेटमा अनिता केसीले एपिएफलाई अग्रता दिलाउनु भयो । वैकल्पिक खेलाडी रेनुका हमालले मिलाएको बललाई अनिताले सहज गोल गर्नु भएको थियो । ८०औं मिनेटमा निशाले हेडर गोल गर्नु भयो । अनिता बस्नेतले कर्नरमा मिलाएको बललाई अनमार्क रहेकी निशाले सहजै गोल गर्नु भएको थियो ।
९०औं मिनेटमा सविताले तेस्रो गोल गर्नु भयो । सरु लिम्बूले करिब ३० यार्ड टाढाबाट हानेको शक्तिशाली प्रहार गोलकिपर उषा थापाले पञ्च गर्नु भएको थियो । सोही रिबाउन्ड बललाई निशाले गोल गर्नु भएको थियो ।
यसअघि समूह ‘बी’ मा रहेको एपिएफले कर्णाली प्रदेशलाई ६–० तथा रौतहटले आयोजक बाँके ११ लाई ३–० ले नै हराएको थियो । पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी भएका थिए । आठ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उ–पविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।