कोहलपुर राजस्व कार्यालयबाट लुटिएको रकम, सुन–चाँदी फिर्ता
Tuesday, September 16th, 2025, 8:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ भदौं
जनप्रतिनिधि र स्थानीय नागरिकको सक्रियतामा कोहलपुरमा जेनजी आन्दोलनका क्रममा लुटिएको रकम र सुनचाँदी फिर्ता गरिएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटिएको दुई लाख ५२ हजार रुपियाँ नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि र समाजसेवीहरुको पहल फिर्ता गरिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार राति नेपाली रुपियाँ एक लाख १७ हजा ६५० र भारतीय रुपियाँ ८४ हजार ३६० को एक लाख ३४ हजार ९७६ रुपियाँ नेपाली गरेर दुई लाख ५२ हजार ६२६ रुपैयाँ फिर्ता गरिएको छ ।
यसैगरी ४२१.३२ ग्राम सुन र नौ किलो ९८४ ग्राम चाँदी इलाका प्रहरी कार्यालयमा फिर्ता बुझाइएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताउनुभयो ।
उहाँले नगदसहितको सो सामान राजस्व अनुसन्धान कार्यालय, कोहलपुरका शाखा अधिकृत खडकप्रसाद उपाध्याय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा मुचुल्का तयार गरी कार्यालयमा सुरक्षित राखिएको बताउनुभयो ।
यसअघि प्रहरीले आइतबार कोहलपुर नगरपालिका २ सालको बुटा नजिकैबाट नगद सात लाख ६६ हजार रुपियाँसहित कोहलपुर ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो ।
सो रकम उनीहरुले पैसा निकालेर बैंकबाट निस्किएका एकजनाको झोला लुटेर फरार भएका थिए । तर केही बेरमै प्रहरीले पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको थियो ।