पत्रकार शर्मामाथि भएको दुर्व्यवहारप्रति महासंघ बाँकेको बिरोध
Sunday, September 21st, 2025, 9:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असोज
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा भएको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले ध्यानाकर्षण भएको जनाएको छ । असोज ५ गते आइतबार जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा भएको पत्रकार शर्मामाथि भएको दुर्व्यवहार प्रति पत्रकार महासंघ बाँके शाखाले एक प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
जेन–जी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दा) बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अनुमति नलिएर किन तस्बिर लिएको भन्दै अस्वभाविक व्यवहार देखाएको घटनाले आफूलाई असुरक्षित महसुस गराएको बाँके शाखाका साधारण सदस्य समेत रहनुभएका शर्माले बताउनुभएको छ ।
परिचय दिँदादिँदै पनि प्रमुख जिल्ला अधिकारी जोशीले सुरक्षाकर्मीलाई के हेरेर बसेको भनेर निर्देशन गर्नुले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको र आफूलाई आतंंकित बनाएको महसुस भएको उहाँको भनाई छ । नेपाल पत्रकार महासंघ बाँके शाखा उक्त घटनाप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराउन चाहेको विज्ञप्तीमार्फत जनाएको छ ।
साथै महासंघ बाँकेले सञ्चारमैत्री तथा सुरक्षित वातावरण निर्माणका लागि सम्बद्ध सबैमा अपिलसमेत गरेको छ । यस्तै नेपाल प्रेस युनियन बाँकेले पनि घटनाप्रति खेद प्रकट गँर्दै जिल्लाको प्रमुखबाट भएको यसखालको व्यवहारको बिरोध गरेको छ । जिल्लाको नेतृत्व गर्ने व्यक्तिले नै पत्रकारितालाई दबाउन खोजेको देखिएको हुँदा युनियन बाँकेका सचिव भिष्म लोधले यस कार्यको बिरोध गर्र्नुभएको छ ।